आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एमालेमा संवाद शुरु भएपनि सहमति टाढा : नेपाल–खनाल पक्ष आज ओलीको चियापान र ७ गतेको वैठकमा नजाने

मंगलबार, चैत्र ३ २०७७

काठमाडौँ(जस)–नेकपा (एमाले)मा शीर्ष नेताहरुबीच बढ्दै गएको संवादहीनतामा आइसब्रेक भएको छ । एमाले मुख्यालय धूम्रबाराहीमा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षबीच पछिल्लो पटक देखिएको तिक्तता मेटाउन सोमबार छलफल शुरु भएसँगै लामो संवादहीनता टुटेको छ । पार्टीलाई एकताबद्ध बनाउन साझा अवधारणा निर्माण गरिने बताइएपनि सोमबार बसेको बैठकले पार्टीमा साझा धारणा निर्माण गरेर अगाडि बढ्न अझ लामो समय लाग्ने देखिएको छ ।
एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सोमबारको छलफल निष्कर्षमा नपुगे पनि सकारात्मक भएको बताए । उनले पार्टी एकताबद्ध बनाउन नेताबीच निरन्तर छलफल हुने जानकारी पनि दिए । “अबदेखि नेताहरू विभिन्न चरणमा बसेर छलफल गर्नुहुन्छ । सोमबारको छलफलले साझा धारणा निर्माण गरेको छ”, उनले भने, “यसको जगमा एमालेलाई एकताबद्ध बनाउँदै नयाँ गतिका साथ अगाडि लैजाने आधार सिर्जना गरेको छ ।”
नेता ज्ञवालीले सर्वोच्च अदालतले एमाले ब्यूँताउने निर्णयलाई अवसरका रूपमा लिँदै पार्टीलाई सुदृढ बनाउँदै र देखिएका विवादलाई समाधान गर्दै जानुपर्नेमा बैठकमा जोड दिइएको बताए । “बलियो एमालेले मात्र अरू वामपन्थीलाई पार्टी एकतामा जोड्दै सिङ्गो देशलाई एकताबद्ध र नेतृत्व दिन सक्छ भन्नेमा साझा निष्कर्ष निकालेका छौँ”, उनले भने । बैठकमा नेपाल पक्षले आफूविना बसेको गत फागुन २८ गतेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयमा असहमति जनाएको छ ।
प्रवक्ता ज्ञवालीले नेपाललगायत नेताहरूले फागुन २८ गते आफूहरूको उपस्थिति नभएको बैठकले गरेका निर्णयलाई स्थगन गर्न भन्नुभएको जानकारी दिए । “हामीले ती निर्णयमा पुनरवलोकन, सुधार र समीक्षा गर्नुछ भने छलफलबाट गर्न सकिन्छ भनेका छौँ”, उनले भने, “फागुन २८ गतेको निर्णयलाई अर्को बैठकमा छलफल गर्न सकिने धारणा प्रधानमन्त्री ओलीले राखे । बैठक बसिसकेको हुनाले फागुन २८ गतेको निर्णयलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन ।” उनले अर्काे पक्षको यही चैत ४ र ५ गते गर्ने भनिएको भेलाले पार्टी एकतालाई बल नपु¥याउने जनाउँदै केन्द्रीय कमिटी बैठक आपसी परामर्शबाट तय गरौँ भनेर आफूहरूले भनेको स्पष्ट पारे ।
छलफलमा सहभागी नेता भीमबहादुर रावलले पार्टीलाई कसरी एकताबद्ध बनाएर लैजाने भन्ने विषयमा छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको छलफलपछि पत्रकारलाई जानकारी दिए । “फागुन २८ गते केन्द्रीय कमिटीले गरेका निर्णय औपचारिक नभएकाले हामीले मान्दैनौँ भन्यो तर उनहरूले त्यसलाई स्वीकार गर्नुभएन”, नेता रावलले भने, “कुरा नमिलेपछि पुनः बैठक बस्ने भनिएको छ ।”
उनले सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र)लाई ब्युँताएपछि एमाले २०७५ साल जेठ ३ गतेभन्दा अगाडिकै स्थितिबाट पार्टी अगाडि बढ्नुपर्ने बताए । उनका अनुसार पार्टीलाई कसरी एकताबद्ध बनाउने भन्नेमा छलफल भएको छ । “एमालेको कुनै पनि फुट स्वीकार गर्दैनौँ । पार्टीलाई एकताबद्ध बनाएर सशक्तरूपमा अगाडि बढाउनेमा हामी दृढ छौँ”, नेता रावलले भने, “तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एक भएन, भएन, फेरि पनि एमालेलाई विभाजन गर्ने कुनै पनि क्रियाकलापका विरुद्धमा हामी छाँै ।”
उनले पार्टीलाई एक बनाउनका लागि विधान, पद्धति र प्रणालीबाट पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिए । उनले पार्टीको विवाद मिलाउन अहिले र यसअघि भएको निर्णय र गतिविधि स्थगन हुनुपर्ने माग पनि राखे । “फागुन २८ गते भएको निर्णय रद्द गर्ने हो भने हामीले बोलाएको चैत ४ र ५ गतेको राष्ट्रिय भेला पनि स्थगन गरेर साझा धारणाका साथ हामी अगाडि बढ्न तयार छौँ”, उनले भने । एमालेका अध्यक्ष ओलीले नेपाल पक्षको सहभागिताविना पदाधिकारी हेरफेर, प्रदेश कमिटीको कार्यविभाजन, माओवादी केन्द्रबाट आएका नेतालाई केन्द्रीय सदस्यमा मनोनयन र विधान संशोधन गरेपछि दुई समूहबीच तिक्तता पैदा भएको थियो । सोमबारको छलफलमा अध्यक्ष ओलीसहित महासचिव ईश्वर पोखरेल, नेता विष्णुप्रसाद पौडेल, ज्ञवाली, सुभास नेम्वाङ तथा वरिष्ठ नेता नेपालका तर्फबाट नेपालसहित नेता रावल, घनश्याम भुसाल र सुरेन्द्रप्रसाद पाण्डे सहभागी भएका थिए ।

नेपाल–खनाल पक्षले राष्ट्रिय भेला पनि नरोक्ने, ओलीको चियापान र ७ गतेको वैठकमा नजाने
नेकपा एमालेको माधव नेपाल र झलनाथ खनाल पक्ष प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आयोजना गरेको चियापान कार्यक्रम र चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा नजाने भएको छ । मंगलबार बालुवाटारमा आयोजना हुने चियापानमा जानुको अर्थ नरहेको उपाध्यक्ष भीम रावलले बताएका छन् ।
सोमबार अध्यक्ष ओली तथा नेता नेपाल पक्षबीचको छलफल सहमतिमा नपुगेकाले चियापानमा नजाने उनीहरुको भनाइ छ । उपाध्यक्ष रावलले सहमति बिना चैत ७ गतेको बैठकमा जानुको पनि औचित्य नभएको बताएका छन् । नेपाल पक्षले सोमबार ) को बैठकबारे जानकारी दिन आफू पक्षका केन्द्रीय सदस्य तथा सांसदहरुलाई बानेश्वरस्थित अर्याल होटलमा बोलाएको थियो ।
अध्यक्ष ओली फागुन २८ गतेको निर्णय फिर्ता लिन तयार नभएपछि नेपाल पक्षले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय कार्यकर्ता भेला भेला यथावत रहेको जनाएको छ । ओलीले फागुन २८ गते नेपाल–खनाल पक्षका नेताहरुलाई जिम्मेवारविहीन बनाउँदै माओवादी केन्द्रका २३ नेताहरुलाई केन्द्रीय कमिटीमा मनोनयन गरेका थिए । ओलीले आफूहरुलाई जानकारी नगराई एक्लौटी रुपमा गरिएको उक्ता निर्णय उल्ट्याउनु पर्ने नेपाल पक्षले सोमबारको छलफलमा कुरा राखेको थियो । नेपाल पक्षको मागप्रति ओली लचिलो नबनेपछि सोमबारको वार्ता बिना निष्कर्ष सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार