काठमाडौं(जस)–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उमेर ढल्किँदो भए पनि एक राजनीतिमा आफू चुप लागेर नबस्ने बताएका छन् । नयाँ साथीहरुसँग अघि बढ्दा पुराना साथीहरु छुट्दा आफू विस्तारै कमजोर हुँदै गएको महसुस भइरहेको बताउँदै अध्यक्ष प्रचण्डले अबको कोर्सलाई सच्याउँदै क्रान्तिका लागि आफूलाई तयार गर्ने मनस्थितिमा आफू रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी निकट नयाँ नमूना स्वास्थ्यकर्मी संघको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एक पटक ‘करेक्सन’ सहित क्रान्तिमा जाने बताउँदै भने, ‘छोड्नेवाला छैन, अझै एक पटक लइाईँ लड्नेवाला छु ।’
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो धरातल र साथीहरु छुट्दा आफूहरु कमजोर भएको बताएका हुन् । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि, यो गरे होला कि, त्यो गरे होला कि भनेर धेरै गरियो’, प्रचण्डले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफ्नै धरातल कमजोर हुँदा हामी अलि कमजोर देखिएका हौं ।’ जनयुद्ध शुरु गर्दा आफू ४२ वर्षको रहेको र अहिले ६६–६७ वर्षको भएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘माओले ७२ वर्षको उमेरमा साँस्कृतिक क्रान्ति गरेका हुन्, म पनि अहिले नै छाड्ने छैन, देश र जनताका लागि एक लडाइँ लड्ने छु ।’
उनले यसअघि माओवादी आन्दोलनबाट अलग भएका मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव र डा. बाबुराम भट्टराईप्रति संकेत गर्दै अब आफू आफ्नै खुट्टामा उभिने र धर्तीसँग जोडी र पुराना साथीहरुलाई एकतावद्ध गर्ने बताए । ‘आफ्नै धर्तीसँग जोडिने, आफ्नै खुट्टामा उभिने र आफ्नै पुराना साथीहरुलाई एकतावद्ध गर्ने, क्रान्तिकारी साथीहरुसँग भर पर्ने छौ’, उनले भने । उनले अब काठमाडौं भन्दा बाहिर केन्द्रीत भएर राजनीतिक सक्रियता बनाउने सोंचमा आफू रहेको पनि बताए ।
‘प्रचण्ड’ ले केपी ओलीसँग सम्झौता गर्दै जाँदा आफै ध्वस्त हुने स्थिति सिर्जना भएपछि १९ पृष्ठको प्रतिवेदन लेख्न वाध्य भएको बताएका छन् । उनले ओली प्रवृतिविरुद्ध सम्झौता गर्न सक्ने हद नाघिसकेपछि वाध्य भएर आफूले १९ पृष्ठको प्रतिवेदन लेखेको स्पष्ट पारेका छन् । अध्यक्ष प्रचण्डले तत्कालीन नेकपा सचिवालय बैठकमा प्रस्तुत गरेको १९ पृष्ठको प्रतिवेदन लेख्दा आफूलाई फेरि जनयुद्धको थालनी भएको अनुभूति भएको पनि सुनाए । उनले केपी शर्मा ओली प्रवृत्तिविरुद्ध प्रहार गर्नका लागि आफूले उक्त प्रतिवेदन प्रस्तुत गरेको बताए ।
‘केपी प्रवृत्तिविरुद्ध मैले १९ पेजको डकुमेन्ट लेख्दै गर्दा नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेख्न बसेको अनुभूति भएको थियो, भएकै छ । मैले केपी प्रवृत्तिविरुद्ध जानीबुझी अब सम्झौता गर्दा सम्पूर्ण ध्वस्त हुने खतरा देखें । म जेल जान पनि तयार, मर्न पनि तयार, यो प्रवृत्तिमाथि प्रहार गर्नैपर्छ भनेर गरेको हुँ’, उनले सुनाए । उक्त प्रतिवेदन सचिवालय बैठकमा पेस गरेपछि विवाद झनै उत्कर्षमा पुगेको थियो । उनले शान्तिपूर्ण युद्ध गरेको र त्यो चलिरहेको बताए । संसद् विघटनविरुद्धको ‘ब्याटल’ जिते पनि आफूहरुले ‘वार’ जितिनसकेको उनले बताए । ‘हामीले संसद् विघटनविरुद्धको, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र खारेज गर्ने षडयन्त्रका विरुद्ध देशव्यापी अभियान चलायौं र त्यो ब्याटल त जित्यौं तर हामीले वार चाहिँ जितेका छैनौं’, अध्यक्ष प्रचण्डले भने, ‘अझै पनि ठूल्ठूला षडयन्त्र भइराख्या छन् । तपाईं हामीले तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक परिवर्तनमाथि हमला भइ नै राखेको छ ।’ उनले सबै सजक भएर आफ्नै खुट्टामा उभिएर अगाडि बढ्नुपर्ने बताए ।
‘प्रचण्ड’ले पार्टी सुदृढीकरण गर्न देशव्यापी अभियान चलाउने पनि बताए । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नयाँ नमूना स्वास्थ्यकर्मी संघको भेलामा उनले फेरि पनि जनतासँग जोडिने गरी पार्टीलाई सशक्त बनाउने सोचका साथ अगाडि बढेको बताए । अब आफूू राजधानी बस्नेभन्दा पनि पार्टी सुदृढीकरणको अभियानमा देशव्यापीरुपमा खटिने जानकारी दिँदै उनले मुलुकका लागि फेरि पनि बलिदान गर्छाँै भन्ने पूर्वसहकर्मीको भनाइले आफूलाई जनताको पक्षमा लाग्न थप ऊर्जा मिलेको बताए । हिजो मुलुक परिवर्तनका लागि ज्यानको बाजी लगाएर सशस्त्र युुद्धमा होमिएका साथीहरु आज विदेशी भूमिमा पसिना बगाउन बाध्य छन्, तर पनि उनीहरु मुलुकका लागि बलिदान गर्न परे फेरि स्वदेश फर्कन्छौँ भन्दै छन्’, अध्यक्ष दाहालले भने ।
जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्न अन्य शक्तिको साथमा क्रान्ति गर्न खोजिएको भए पनि त्यसबाट सफलता हासिल नभएको उनले बताए । ‘जनसंघर्षबाट प्राप्त उपलब्धिका विरुद्ध अहिले पनि हमला भइरहेको छ, हामी आफ्नै खुुट्टामा उभिने गरी तयारी गरिरहेका छौँ, केही समय योसँग उभिने, उसँग मिले होला कि भनेर सहकार्य गरियो’, उनले भने, ‘तर आफ्नै साथीहरु छुट्दा, आफैँ कमजोर भएको पक्कै हो, अब आफ्नै खुुट्टामा उभिने र पूराना साथीहरुलाई एकताबद्ध बनाएर लैजाने विश्वासका साथ लागेको छुु ।’
जनताको संघर्षबाट प्राप्त उपलब्धिलाई समाप्त पार्न देशीविदेशी तत्व लागि परेको बताउँदै उनले त्यस्ता षडयन्त्रलाई पररास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । ‘राष्ट्र र परिवर्तनको आन्दोलनका विरुद्ध देशभित्र र बाहिरका प्रतिक्रियावादीले ठूलो षड्यन्त्र गरिरहेका छन’, उनले भने, ‘हामीले त्यसलाई परारस्त गर्नुछ, गरिन्छ पनि, किसान, मजदुर, उत्पीडित जनसमुदायसँग जोडियौँ भने हामीले शान्तिपूर्णरुपमा युद्ध जित्छौँ ।’
यसैबीच अध्यक्ष दाहालले आजै जनयुद्धकालका शहिद भरत ढुंगानाको स्मृतिमा प्रकाशन गरिएको ‘भरत ढुंगाना समृति’ ग्रन्थको सार्वजनिक एवम् परिचर्चा कार्यक्रममा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सहकार्यका लागि आफू तयार रहेको बताए । वैचारिक छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने भन्दै अध्यक्ष दाहालले त्यसका लागि आग्रह गरे । उनले आफूले कहिल्यै पनि गलत नियत नराखेको बरु, राम्रो काम गर्न खोज्दा खोज्दै पनि कमजोरी भएको भन्दै सच्याउनका लागि तयार रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसी, नुवाकोटबाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङलगायतको सहभागिता थियो ।