काठमाडौं(जस)–नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा डा। निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुसाई नियुक्त गरेको हो । ढुंगाना सार्वजनिक ऋण व्यवस्थापन विभाग र मिश्र विदेशी विनिमय व्यवस्थापन विभागमा थिए ।
अघिल्लो साता पाँच बर्षे कार्यकाल पुरा गरेर चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ अवकाश भएपछि डेपुटी गभर्नर पद रिक्त थियो । ढुङ्गाना अहिले राष्ट्र ऋण विभागकी कार्यकारी निर्देशक हुन् भने मिश्र बिदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक हुन् । ढुङ्गाना राष्ट्र बैंकको पहिलो महिला डेपुटी गभर्नर हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा कार्यरत कार्यकारी निर्देशकहरुमध्येबाट २ जनालाई गभर्नरको सिफारिसमा मन्त्रिपरिषदले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्छ । राष्ट्र बैंकमा रहेका १७ जना कार्यकारी निर्देशकमध्ये ६ जनालाई प्रतिस्पर्धीका रुपमा हेरिएको थियो । बैंकको कार्यकारी निर्देशकहरुको वरियताक्रममा ढुंगाना तेस्रोमा र मिश्र तेर्हौं स्थानमा थिए । तर, प्रधानमन्त्रीको गृहजिल्लाका भएकै कारण कनिष्ठ भएपनि उनीहरुलाई नियुक्ति दिइएको बताइन्छ । मिश्रको सेवा अवधि १८ वर्ष मात्र भएको छ। पेन्सन हुनका लागि मात्र दुई वर्ष बाँकी भएको अवस्थामा मिश्र गभर्नर बनेका हुन् । राष्ट्र बैंकको इतिहासमा पेन्सन नभई रिटायर्ड भएर डेपुटी गभर्नर हुने कार्यकारी निर्देशकहरुमा उनी दोस्रो हुन् ।