बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

देशभर काँग्रेसको विरोध प्रदर्शन, सरकारको सर्वसत्तावाद विरुद्ध व्यापक जनमत प्रकट भएको काँग्रेसको ठहर

सोमबार, मंसिर २९ २०७७

काठमाडौं(जस)– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध सशक्त विरोध प्रदर्शन गरेको छ । कोरोना भाइरसको नियन्त्रण र व्यवस्थापनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको र भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ सरकार नै उन्मुख भएको भन्दै काँग्रेसले आयोजना गरेको देशव्यापी प्रदर्शनमा व्यापक जनसहभागिता देखिएको थियोे । काठमाडौँ उपत्यकासहित सातै प्रदेशका विभिन्न जिल्लामा काँग्रेसले शक्ति प्रदर्शन समेत गरेको हो । देशव्यापी भएको विरोध प्रदर्शनको नेतृत्व गर्न काँग्रेसका शीर्ष नेताहरू विभिन्न जिल्लामा पुगेका थिए ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले अहिले एकदलीय सर्बसत्तावाद लागु गर्न खोजेको बताए । हेटौडामा काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले ओली सरकार सर्बसत्तावाड उन्मुख भएको आरोप लगाएका हुन् । सभापति देउवाले कम्युनिष्टहरुले जितेपछि बोल्न पाइदैन भनेको कुरा आज सत्य भएको बताए । उनले देशको अवस्था एकतर्फी शासन लागु भएको बताउदै जनतालाई बोल्ने अधिकार खोसिएकोले देशव्यापी प्रदर्शनमा आउनु परेको बताए । देउवाले सम्बोधनको शुरुमै कोरोना महामारीका बीच सडक प्रदर्शनमा आउनुपरेकोमा माफी मागेका थिए ।
सभापति देउवाले राजा आउ देश बचाऊ भन्ने आन्दोलन चर्किनुमा ओली सरकार नै जिम्मेवार भएको बताए । राजाले प्रजातन्त्रलाई मास्न खोजेपछि हटाइएको स्पष्ट गर्दै अब राजा आउन सम्भव नभएको बताए । अहिले सडकमा राजतन्त्रको पक्षमा भएको आन्दोलन ओली सरकारको कारणले भएको बताए ।
प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को इन्जिन सिज भएको बताएका छन् । हेटौडामा सरकार विरोधी प्रदर्शनलाई सम्बोधन गर्दै प्रवक्ता शर्माले पेट्रोल र डिजल मिसाएर चलाइएको नेकपाको इन्जिन सिज भएको भन्दै व्यग्य गरेका छन् । उनले कोरोना महामारीका बेला नेकपाको सरकार बालुवाटारमा घाम तापेर सत्ताको खेल खेलेको आरोप लगाएका छन् । प्रवक्ता शर्माले सरकारले वाइडबडी, स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्रचार गरेको भन्दै नेकपाको सरकारले कात्रोमा समेत भ्रष्ट्रचार गरेको बताए ।
सरकार सर्बसत्तावाद तिर गएको आरोप लगाउदै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रकरणमा सरकारले सुतेको बाधलाई जगाएको बताए । काँग्रेस बन्दुक उठाउने कुरामा पनि जेठो भएको भन्दै २०१८ सालमा राजा महेन्द्र चढेको गाडीमा आक्रमण गरेको स्मरण गरेका थिए । अहिले सरकारको निराशालाई व्यवस्थाप्रतिको उदासीनताको रुपमा व्याख्या गरिएको भन्दै अब राजा आउन नसक्ने बताए । प्रवक्ता शर्माले कोरोना कहरका बेला विदेशमा रहेका नेपालीको समयमा उद्धार गर्न नसेको, व्यापारी र किसानका समस्याको समस्या समाधान गर्न चुकेको आरोप लगाए । उनले देश अहिले संकटमा रहेको भन्दै काँग्रेसले हरेक संकटको बेला नेतृत्व गरेको र अहिले पनि देशको नेतृत्व गर्न अग्रसर भएको बताए ।
नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले ओली नेतृत्वको सरकार इतिहासकै भ्रष्ट सरकार भएको बताएका छन् । कैलालीमा काँग्रेसको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नै भ्रष्ट्राचारीलाई संरक्षण गरेको बताए । उनले बालुवाटारको जग्गा छोराको नाममा राख्ने अर्थमन्त्री बनेको र उसलाई सिफारिश गर्ने व्यक्ति जेल गएको भन्दै सरकारप्रति आक्रामक बनेका थिए ।
नेता थापाले बलात्कारीलाई संरक्षण गरेका गृहमन्त्री, बालुवाटारको जग्गा लिएका अर्थमन्त्री र स्वास्थ्य सामग्री खरिदमा भ्रष्ट्राचार गरेका स्वास्थ्यमन्त्री प्रधानमन्त्रीका विशेष मन्त्री भएको भन्दै प्रधानमन्त्रीको संरक्षणमा नै भ्रष्ट्राचार भएको बताए । उनले नेकपालाई लोभीपापीको मन्च भएको टिप्पणी गरेका छन् । नेता थापाले चुनाव हार्ने डरले ओली र प्रचण्ड एक ठाउमा आएको बताउदै नेकपा लोभीपापीको मन्च भएको बताए ।
नेपाली कांग्रेसका नेता डा रामशरण महतले महाधिवेशन गराएर कांग्रेसलाई जनताको विश्वासिलो पार्टी बनाउनुपर्ने बताएका छन् । कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको विरोधसभामा उनले पार्टी नेतृत्वलाई सच्याएर जनताको लायक पार्टी बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘निष्पक्ष ढङ्गले महाधिवेशन गरेर जनताको विश्वास जित्ने पार्टीका रुपमा कांग्रेसलाई ल्याउन आवश्यक छ ।’ कांग्रेस लोकतान्त्रिक, आर्थिक नीति ल्याउन सक्ने र विकासप्रेमी पार्टी भएको उनको भनाइ थियो ।
सरकारले संविधान कार्यान्वयनमा ल्याउन नसकेको आरोप लगाउँदै उनले अहिलेसम्म संविधान कार्यान्वयनका लागि खासै काम हुन नसकेको बताए । उनले भने, ‘जनताको अधिकारका लागि सङ्घीयतामा तीन तहको सरकार बनाइएको हो तर सबै अधिकार केन्द्रमा नै सीमित गर्न खोजिँदै छ ।’
इलाम– कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले वर्तमान सरकारलाई काम गर्नका लागि जनताले बहुमत दिए पनि त्यसको दुरुपयोग भएको आरोप लगाएका छन् । सदरमुकाममा आयोजित पार्टीको विरोधसभामा उनले विगतका ठूला राजनीतिक उपलब्धि संस्थागत गर्ने काम कांग्रेसले गरेको जिकिर गर्दै अबको जिम्मेवारी पनि कांग्रेसले नै गर्ने बताए । कार्यक्रममा पूर्वसांसद केशव थापाले पछिल्लो समय विभिन्न प्रकरणमा सरकार जोडिएको जनाउँदै अब विकल्प सोच्नुपर्ने बाध्यता रहेको बताए । कांग्रेसले सरकारको विरोधमा प्ले कार्डसहितको ¥ याली निकालेको थियो ।
मोरङ । नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकार जनताका चाहना र आवश्यकतानुसार नचलेको आरोप लगाएका छन् । उनले सरकार कोभिड–१९ लाई नियन्त्रण गर्न असफल भएको र कोरोनाबाट नागरिकलाई जोगाउन खासै काम नगरेको आरोप लगाए ।
दमौली । कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले कांग्रेसलाई सत्ता प्यारो नभएको बताएका छन् । कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री डा रिजालले जनताले कांग्रेसलाई आफ्नो माझ खोजेको र अबको चुनावपछि कांग्रेस पहिलो शक्ति बन्ने जिकिर गरे । संविधानको रक्षाका लागि कांग्रेस सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै पूर्वमन्त्री डा रिजालले जनताका पक्षमा काम गर्न सरकारलाई सुझाव दिए ।
रसुवा –प्रतिनिधिसभाका सदस्य मोहन आचार्यले कांग्रेसले लोकतन्त्रको संरक्षणका लागि निरन्तर रुपले अघि बढ्ने तथा विकृतिविसङ्गतिको विरोधमा सदैव खबरदारी गर्ने बताए । सदरमुकाम धुञ्चेमा आयोजित विरोधसभामा प्रदेशसभा सदस्य प्रेम तामाङ, कांग्रेस पूर्वजिल्ला सभापति लामाकार्पु तामाङ, जिल्ला समिति सदस्य जनकजीवन उपाध्याय, उपेन्द्र लम्साल, राजु तितुङलगायतले विरोधसभामा सम्बोधन गरेका थिए ।
पर्सा– यहाँ आयोजित सभालाई सम्बोधन गर्दै कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले मुलुकमा बढ्दै गएको भ्रष्टाचार, महँगीप्रति सरकार गम्भीर नभएको र यसलाई रोक्न सरकारले ठोस कदम नचालेसम्म आन्दोलन जारी राख्ने जानकारी दिए । उनले संवैधानिक अङ्गलाई कमजोर नबनाउन र प्रदेशलाई अधिकारसम्पन्न बनाउन सरकारलाई दबाब दिन कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको बताए ।
कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदीको अध्यक्षतमा सम्पन्न भएको कोणसभामा कांग्रेसका केन्द्रीय सदस्य अजयकुमार चौरसियालगायतले अपराध तथा महँगी नियन्त्रण, किसानलाई मलखादको आपूर्ति र कोरोनाकालमा आमजनतालाई दिनुपर्ने आवश्यक सहयोग दिन सरकार चुकेको आरोप लगाए ।
सिद्धार्थनगर– पछिल्लो समय विभिन्न समूहले राजासंस्था ब्युँताउने भन्दै सडकमा नारा जुलुस निकालेको प्रति नेपाली कांग्रेसका नेताहरुले आपत्ति जनाएका छन् । कांग्रेस रुपन्देहीले आज भैरहवामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले जनताले लडेर ल्याएको व्यवस्था सङ्घीय गणतन्त्रप्रति नै विश्वास घटाउने काम वर्तमान सरकारले गरेको आरोप लगाए । कांग्रेस नेता तथा प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले वर्तमान सरकारकै कारण सङ्घीय लोकतन्त्र खतरामा पुगेको आरोप लगाए । कांग्रेसका नेता रामचन्द्र ढकालले राष्ट्रिय झण्डाको दुरुपयोग भएको भन्दै सरकारको आलोचना गरे । उनले भने, ‘राजावादीहरुले राष्ट्रिय झण्डाको दुरुपयोग गर्दै सडकमा तमासा गर्दै हिँडेका छन् तर सरकार आँखा चिम्लिएर बसेको छ ।’ कांग्रेस रुपन्देही सभापति तथा पूर्वमन्त्री अब्दुल रज्जाकले सरकार जनपक्षीय हुन नसकेको बताए । विरोधसभामा सांसद प्रमोदकुमार यादव, संविधानसभा सदस्य इस्तियाक अहमद खान, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलप्रसाद न्यौपानेलगायतले सरकारको आलोचना गरेका थिए ।
कलैया । कांग्रेसका केन्द्रीय सदस्य फरमुल्लाह मन्सुरले वर्तमान सरकार असफल भएको आरोप लगाएका छन् । पूर्वमन्त्री मन्सुरले नेपाली जनताको भवना विपरीत कार्य गर्दै मुलुकमा भ्रष्टाचार र बेथिति बढाएको आरोप लगाए । सोही कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री उमाकान्त चौधरीले तराई–मधेशका जनताको हित कांग्रेसले मात्र गर्ने जिकिर गर्दै मधेशवादी दलले पनि सत्ता र शक्तिका लागि मधेशका जनतालाई ठगिरहेको आरोप लगाए । पार्टीका केन्द्रीय सदस्य राधेचन्द्र यादवले सरकारल प्रेस, अदालत, संवैधानिक निकाय, प्रहरी, प्रशासन नियन्त्रणमा लिएर देशमा शासन चलाउन लागेको आरोप लगाए ।
भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गरेका छन् । कांग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उनले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गरे । सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उनले औँल्याए ।
नेपाली कांग्रेसले सोमबारको देशव्यापी प्रदर्शनमा सर्वसत्तावादविरुद्ध व्यापक जनमत प्रकट भएको निष्कर्ष निकालेको छ । प्रदर्शनपछि सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा प्रदर्शनबाट पार्टीलाई नवीन ऊर्जा प्राप्त भएको भन्दै प्रदर्शनमा सहभागी सबैलाई विशेष बधाई दिएका छन् । ‘आज मंसिर २९ गतेका लागि निर्धारित देशव्यापी प्रदर्शनमा भएको व्यापक सहभागिताले वर्तमान कम्युनिष्ट सरकार र उसको सर्वसत्तावादी प्रवृत्ति विरुद्ध जनमत प्रकट गरेको छ,’ सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘एक्काइसौं शताब्दीको नेपाली जनता लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रको मुल मार्गबाटनै देशको भविष्य सुनिश्चित गर्न चाहन्छ भन्ने बलियो मत आज प्रकट भएको छ ।’
सभापति देउवाले आजको प्रदर्शनले नेपाली कांग्रेस पार्टीलाई नवीन उर्जा प्रदान गरेको बताएका छन् । ‘यो ऊर्जालाई क्रमिक अभिवृद्धि गर्दै नेपाली कांग्रेस आगामी दिनमा अझ सशक्त ढंगले अघि बढ्ने उद्घोष म गर्न चाहन्छु,’ उनले भनेका छन्, ‘प्रदर्शनमा उत्साहपूर्वक सहभागी देशभरिका साथीहरूलाई म विशेष बधाई ज्ञापन गर्दछु ।’ विज्ञप्तिमा उनले भनेका छन्, ‘प्रदर्शनमा सहभागिता र शुभेच्छा राख्ने जनसमुदाय र प्रदर्शनको तयारीमा अहोरात्र खट्ने साथीहरूप्रति सम्मान प्रकट गर्दै समाचार प्रसारण मार्फत योगदान पु¥याउनु हुने देशभरिका सबै पत्रकार मित्रहरूमा धन्यवाद व्यक्त गर्दछु ।

प्रतिक्रिया
सम्बन्धित समाचार