बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

काठमाडौका मुख्य सडकमा अब २ हजार आधुनिक बत्ति

शुक्रबार, मंसिर २६ २०७७

काठमाडौ(जस)–काठमाडौं महानगरपालिका क्षेत्र भित्रका मुख्य मुख्य सडकमा आधुनिक सडक बत्ति जडान हुने भएको छ । सो सम्बन्धी सहमतिपत्रमा काठमाडौं महानगरपालिका, नेपाल विद्युतप्राधिकरण र सडक विभागबीच हस्ताक्षर भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्बाङ्ग र काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा बिहीबार मन्त्रालयमा सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । सहमति अनुसार पहिलो चरणमा अन्तर्राष्ट्रिय विमानस्थलदेखि नयाँबानेश्वर, त्रिपुरेश्वर, कालीमाटी, कलंकी लगायतका क्षेत्रमा करीब १७ करोडको लगानीमा २ हजार आधुनिक बत्ती जडानको कार्य अघि बढ्ने भएको हो ।
सहमतिपत्रमा हस्ताक्षर गर्दै मन्त्री नेम्बाङ्गले संघीय राजधानी समेत रहेको काठमाडौ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो संघीय राजधानीको चिनारी दिने अभियान अन्तर्गत यो योजना अघि बढेको बताए । ‘संघीय राजधानी समेत रहेको काठमाडौं महानगरलाई व्यवस्थित ढंगले उज्यालो महानगर बनाउने अभियानलाई मूर्तरुप प्रदान गर्न काठमाडौं महानगरपालिका, नेपाल विद्युतप्राधिकरण र सडक विभागबीच बिहीबार हस्ताक्षर भएको छ,’ मन्त्री नेम्बाङगले भने, ‘आर्थिक वर्ष भित्रै सम्पन्नगर्ने गरी यो परियोजना सफल बनाउने गरी लाग्नु होला ।’
मन्त्री नेम्बाङ्गले मन्त्रालय धुलोरहित, हिलोरहित काठमाडौ बनाउने अभियानमा यस अघिदेखि नै सक्रिय रहेको भन्दै काठमाडौ महानगरपालिकाको पहलमा उज्यालो काठमाडौ महानगर बनाउने अभियानलाई सफल बनाउन सबैले हातेमालो गर्न आवश्यक रहेको पनि बताए । काठमाडौ महानगरपालिकाका प्रमुख शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरणसम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्नेतर्फ केन्द्रित हुन आग्रह गरे । ‘यातायात व्यवस्थापन तथा शान्ति सुरक्षा कायम गर्न तथा सामाजिक सुरक्षा लगायतका सेवा सुविधाहरुलाई चुस्त दुरुस्त राख्न सडक बत्ती व्यवस्थापन गर्न अपरिहार्य छ,’ उनले भने, ‘सहरी सौन्दर्य अभिवृद्धि गर्न काठमाडौं महानगरपालिका क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा आधुनिक सडक बत्ति जडान गर्न उपलब्ध श्रोत साधन तथा प्रविधिको अधिकतम प्रयोग गरी बत्ती जडान कार्य शिघ्र शुरु गर्ने र आवश्यकता अनुसार निरन्तर विस्तार गर्दै आपसी समन्वय, सहकार्य र एकरुपता कायम गर्न काठमाडौं महानगरपालिका तयार छ ।’
सहमतिपत्रमा काठमाडौं महानगरपालिका, क्षेत्रभित्रका मुख्य मुख्य सडकहरुमा जडान गरिने आधुनिक सडक बत्तीहरुमा काठमाडौं महानगरपालिका र नेपाल विद्युतप्राधिकरणको संयुक्त लगानीमा गर्ने र लगानीको अनुपात काठमाडौं महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत रहने उल्लेख छ । त्यसैगरी चालु आ.व.मा नेपाल विद्युत प्राधिकरणको ४० प्रतिशत लगानीको लागी आवश्यक रकम काठमाडौं महानगरपालिकाले उपलव्ध गराउने रउक्त रकम आगामी कार्यक्रममा नेपाल विद्युत प्राधिकरणले गर्ने लगानीमा समायोजन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ । ‘यस कार्यका लागि लागत अनुमान तयार गर्ने,प्रविधिको छनौट गर्ने, खरिद कार्य गर्ने तथा निर्माण कार्यको सुपरिवेक्षण गर्ने लगायतका कार्य नेपाल विद्युत प्राधिकरणले गर्ने । यस आयोजनाको निर्माण कार्य पश्चात मर्मत गर्नुपर्ने सडक, फुटपाथ लगायतको मर्मत कार्य सडक विभागले गर्ने,’ सहमतिपत्रमा भनिएको छ,’ सडक विस्तार हुन सक्ने वा विस्तारका योजना भएका सडक लगायत आवश्यकता अनुसारको सडकमा पोल राख्ने स्थानको अनुमति सडक विभागले दिने समहती भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार