काठमाडौं, १४ असोज । इंग्लिस फुटबल लिग कप अर्थात् काराबा कपको चौथो चरणअन्तर्गत गएराति सम्पन्न खेलमा टोटनहाम हटस्परले चिरपरिचित प्रतिद्वन्दी चेल्सीलाई हराएको छ ।
निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।
चेल्सीले खेलको १९औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता लिएको थियो । त्यसपछि सिधै ८३औं मिनेटमा स्पर्सका इरिक लमेलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
बराबरीपछि भएपछि खेलिएको टाइब्रेकरमा टोटनहामका पाँचैजनाले गोल गरेका थिए भने चेल्सी अन्तिम पेनाल्टी प्रहारमा चुकेको थियो ।
टोटनहामका एरिक डाएर, एरिक लमेला, पिएर इमिल होजवर्ग, लुकास मोउरा र कप्तान ह्यारी केनले गोल गरे ।
चेल्सीका टामी अब्राहम, सेजर एज्पिलिकुएटा, जोर्गिन्हो र एमर्सनले गोल गर्दा मेसन माउन्टको प्रहारलाई भने स्पर्सका कप्तान ह्युगो लोरिसले बचाएका थिए ।