काठमाडौं, ४ भदौ । क्यारेबियन प्रिमियर लिग (सिपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न खेलमा जमैका तलाहवाजले पहिलो जीत दर्ता गरेको छ । जमैकाले सेन्ट लुसिया जुक्सलाई ५ विकेटले हराउँदै २ अंक बटुल्न सफल भयो ।
टस हारेर ब्याटिङमा निम्त्याइएको जुक्सले २० ओभरमा ७ विकेट गुमाएर १५८ रन बनाएको थियो । उसका लागि रस्टन चेजले ५२ रनको योगदान दिएका थिए । जमैकाका मुजिब उर रहमान र ओसेन थोमसले २ २ विकेट लिएका थिए भने नेपाली स्पिनर सन्दीप लामिछाने र आन्द्रे रसलले १ १ विकेट लिए । सन्दीपले ४ ओभरमा २३ रन खर्चदैँ १ विकेट लिएका हुन् ।
१५९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको जमैकाले ७ बलको खेल बाँकी रहँदै लक्ष्य भेटाएको थियो । उसका लागि आसिफ अलीले ५ चौका र २ छक्काको मद्दतले अविजित ४७ रन बनाए भने ओपनर ग्लेन फिलिप्सले ३ चौका र ३ छक्काको मद्दतले ४४ रन बनाएका थिए । जुक्सका केस्रिक विलियम्सले दुई विकेट लिए । खेलको म्यान अफ द म्याच आसिफ अली घोषित भए ।
यस्तै अर्को खेलमा गुएना अमेजन वारियर्सले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सलाई ३ विकेटले हरायो । टस हारेर ब्याटिङ थालेको सेन्ट किट्सले २० ओभरमा ८ विकेट गुमाएर १२७ रन मात्र बनाउन सक्यो । उसका एभिन लुइसले ३० रन बनाए । गुएनाका लागि किमो पउलले ४ विकेट लिए ।
जवाफमा १२८ रनको लक्ष्य पछ्याएको गुएनाले ३ ओभर बाँकी छँदै ७ विकेटको क्षतिमा लक्ष्य भेटाएको हो । शिम्रोन हेटमायरले ८ चौका र ३ छक्काको मद्दतले ७१ रन बनाए । सेन्ट किट्सका एमरितले ३ विकेट लिए । खेलको म्यान अफ द म्याच किमो पउल घोषित भए ।
सेन्ट किट्सको यो लगातार दोस्रो हार हो । जीतसँगै गुएना रनरेटका आधारमा शीर्षस्थानमा रहेको छ भने जमैका दोस्रो स्थानमा रहेको छ ।