काठमाडौं(जस)–स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप २ जनाको मृत्यु भएको जानकारी दिएसँगै कुल मृतकको संख्या ७५ पुगेको हो । कोरोनाबाट पछिल्लो मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगर–१९ का एक ६२ वर्षीय पुरुष रहेका छन् । यही साउन १७ गते कोरोनासहित मधुमेहबाट पीडित भई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ‘कोभिड उपचार केन्द्र’को सघन उपचारकक्षमा उपचाररत ती पुरुषको गए राति ११ स् ३५ बजे उपचारका क्रममा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । त्यस्तै पछिल्लो मृत्यु हुनेमा निजी अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्ज महानगरपालिका–२ छपकैयाकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा अहिलेसम्म कोरोनाबाट ७५ जनाको मृत्यु भएको छ ।
यस्तै नेपालमा आइतबार थप ३८० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३८० जना संक्रमित थपिएको जानकारी दिएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४० जना डिस्चार्ज भएका छन् भने अहिलेसम्म १६ हजार ३५३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७१.५८ रहेको प्रवक्ता गौतमले बताएका छन् । त्यस्तै पछिल्लो २४ घन्टामा ८ हजार ५१५ नमुनाको पिसिआर परिक्षण भएको छ भने अहिलेसम्म कुल ४ लाख ४३ हजार ८०४ नमुनाको पिसिआर परिक्षण भएको छ ।
त्यस्तै अहिले देशभरमा ११ हजार ३८ जना क्वारेन्टाइनमा रहेका छन् भने ६ हजार ५४४ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म नेपालका ७७ वटै जिल्लामा संक्रमण देखिएकोमा ७ जिल्ला कोरोना मुक्त भएका छन् । जसमा खोटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डोल्प्पा र हुम्ला रहेका छन् ।
काठमाडौँ उपत्यकामा आइतबार पनि थप ९२ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । नयाँ संक्रमितमा काठमाडौँका ९० जना र ललितपुरमा २ जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ३८० जना संक्रमित थपिएको जानकारी दिएका छन् ।
कोरोना नियन्त्रण गर्न मन्त्रालय र महानगरको संयुक्त टोली
काठमाडौंमा कोरोना संक्रमित र उनीहरुको सम्पर्कका भएका व्यक्तिको खोजीलाई प्रभावकारी बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र काठमाडौं महानगरपालिकाको संयुक्त टोली गठन हुने भएको छ । आइतबार राष्ट्रिय सभा गृहमा मेयर बिद्यासुन्दर शाक्य, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल, महानगरका सहसचिव राजेश्वर ज्ञवाली, प्रवक्ता ईश्वरमान डंगोल, डा. गुणराज लोहनीसहित अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
कोरोना संक्रमण भएको व्यक्ति, उसको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिको जोखिम थाहा पाउन, उनीहरुको अवस्थाका बारेमा निगरानी गर्न टोली बनाउन लागिएको हो । बैठकपछि प्रतिक्रिया दिँदै प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले भने, ‘समुदाय स्तरमा भएको संक्रमणको दर बढ्न नदिन अपनाउनु पर्ने रणनीति, सञ्चालन गर्नु पर्ने कार्यक्रम नै आइतबारको बैठकको मुख्य बिषय थियो ।’