काठमाडौँ(जस)–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि उपत्यकाका विभिन्न १४ स्थानमा स्बाव संकलन केन्द्र तोकेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले शङ्कास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त स्थानबाट आएका व्यक्तिको नमूना परीक्षणका लागि स्बाव संकलन गर्न १४ वटा अस्पताललाई स्बाव संकलन केन्द्र तोकिएको बताए । ती स्बाव संकलन केन्द्रमा गई कोभिड–१९ परीक्षण मापदण्डभित्र तोकिएका व्यक्तिको निःशल्क परीक्षण गरिने छ । उनका अनुसार पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, काठमाडौँ मेडिकल कलेज, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन केन्द्र तोकिएको छ ।
ती स्बाव संकलन केन्द्रमा बिहान ९ देखि १ बजेसम्म परीक्षणका लागि नमूना संकलन हुने उनले बताए । यसैगरी मन्त्रालयले तोकिएको कोभिड–१९ हब अस्पताल, कोभिड–१९ क्लिनिक अस्पताल, कोभिड–१९ अस्पताल लेभल १, २ र ३ मा पनि परीक्षणका लागि स्बाव संकलन गरिनेछ । यसअघि मन्त्रालयले उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुङ्गा, साँगा र फर्पिङमा स्वाब संकलन गरेको छ ।
यसैगरी उपत्यकामा संक्रमित ठाउँमा गएर इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले पनि स्वाब संकलन गरिरहेको छ । महाशाखाले बढी अग्रपङ्क्तिमा काम गर्ने सरकारी तथा गैरसरकारी कार्यालयमा गई पनि स्वाब संकलन गरिरहेको छ । बैंक, मालपोत तथा नापी कार्यालय, अस्पतालका स्वास्थ्यकर्मी, सिंहदरबारका सरसफाइ गर्ने कर्मचारी, कालीमाटी तरकारी बिक्री केन्द्र लगायतका कार्यालयमा गई स्वाब संकलन गरी कोभिड–१९ परीक्षण गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले स्वाब संकलनका लागि अस्पताललाई निर्देशन दिइसकेको समेत जानकारी दिए । ‘हामीले ती स्बाव केन्द्रको रुपमा तोकिएका अस्पताललाई स्वाब संकलनका लागि निर्देशन दिइसकेका छौं’, उनले भने, ‘सायद भोलिदेखि स्वाब संकलन गर्नेछन् ।’
उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र अस्पताल, नेपाल पुलिस अस्पताल, स्टार अस्पताल, नेपाल कोरिया मैत्री अस्पताल, सेन्ट्रल डाइग्नोष्टि ल्याबरोटरी एन्ड रिसर्च सेन्टर, विध ल्याब र सूर्या हेल्थ केयरबाट कोभिड–१९ को परीक्षण गरिन्छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले उपत्यकामा कोभिड–१९ का शङ्कास्पद संक्रमितको खोजपडताललाई पनि तीव्रता दिइएको बताए ।
यसैगरी मन्त्रालयले कोभिड–१९ को महामारी संक्रमण बढिरहेकाले हालको अवस्थामा काठमाडौं उपत्यकामा समेत यसको जोखिम बढिरहेकाले सर्वसाधारण सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालन गर्न, घरबाहिर अत्यावश्यक अवस्थामा बाहेक ननिस्कने र भीडभाड नगर्न तथा चाडपर्व घरमै बसेर मनाउनसमेत अनुरोध गरिएको उनले बताए । नेपालमा अहिलेसम्म २१ हजार ९ जना संक्रमित भइसकेका छन् । तीमध्ये १५ हजार २६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन् भने पाँच हजार ९२५ जना सक्रिय संक्रमित र ५८ जना संक्रमणबाट मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३४ वटा प्रयोगशालाबाट चार लाख छ हजार ४९४ जनाको पिसिआर परीक्षण गरिएको छ ।
उपत्यका प्रवेश गर्ने तीन नाकाको स्वÞाब परिक्षणमा ४० जनामा कोरोना पुष्टि
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाबाट गरिएको स्वÞाब संकलनमा ४० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँ उपत्यका प्रवेश गर्ने तीन नाका नागढुङ्गा, फर्पिङ र साँगामा गरेर कुल १० हजार ८५३ जनाको स्वÞाब परिक्षण गरिएकोमा ४० जनामा कोरोना पुष्टि भएको छ । जसमा नागढुङ्गामा एक हजार ३०७ जनामा गरिएको परीक्षणमा १६, फर्पिङमा तीन हजार ४८२ जनामा गरिएको परीक्षणमा १३ र साँगामा छ हजार ६४ जनामा गरिएको परीक्षणमा ११ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी गराएको छ ।