बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिन थाल्यो, कुल संक्रमितमा निको हुने बढे

शनिबार, साउन १० २०७७

काठमाडौँ(जस)–कोभिड–१९ को लक्षण देखिएका सङ्क्रमित भेटिन थालेका छन् । पहिले ९८ प्रतिशत सङ्क्रमितमा लक्षण नभएका पाइएका थिए भने अहिले देखिने नयाँ सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेको हो । अहिले नयाँ सङ्क्रमितमा लक्षण देखिन थालेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए । आजभोलि देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका छन् । उनका अनुसार हालै काठमाडौँ उपत्यकामा देखिएका १६ मध्ये नौ जनामा लक्षण देखिएको छ । “पहिले देखिएका सङ्क्रमितमा लक्षण देखिएको थिएन”, उनले भने, “तर अहिले देखिएका सङ्क्रमितमा कोभिड–१९ का लक्षण देखिन थालेका छन् ।” लक्षण देखिएका सङ्क्रमित भेटिन थालेपछि सतर्कता अपनाउनुपर्ने सुझाव दिइएको छ । सरकारले यही साउन ७ गतेदेखि बन्दाबन्दी खुलेसँगै सङ्क्रमणको जोखिम बढेकाले स्वास्थ्यका मापदण्ड अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले भर्ना भएका बिरामीमध्ये एक तिहाइमा लक्षण भएका सङ्क्रमित भएको बताए । अस्पतालमा अहिले २४ जना बिरामीमध्ये आठजना कोभिड–१९ का लक्षण देखिएका सङ्क्रमित रहेका छन् । उनका अनुसार ती बिरामीमा कसैलाई ज्वरो, रुघाखोकी, जीउ थाक्ने, श्वास फेर्न समस्या जस्ता लक्षण देखिएका छन् । “अन्य ठाउँभन्दा यहाँ बढी नै लक्षण भएका सङ्क्रमित उपचार गराउन आउँछन्”, उनले भने, “ती कतिपय सङ्क्रमितलाई सघन उपचार कक्ष (आइसियु) र भेन्टिलेटरमा राखेर उपचार गराइरहेका छौँ ।”
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. विष्णुप्रसाद शर्माले पहिले भन्दा अहिले अस्पताल आउने सङ्क्रमितमा लक्षण देखिन थालेका बताए । “पहिले अस्पतालमा भर्ना हुने सङ्क्रमित लक्षणविहिन रहेका थिए”, उनले भने, “तर अहिले अस्पतालमा भर्ना भएका सङ्क्रमितमा सामान्य रुघाखोकी, ज्वरो जस्ता लक्षण देखिन थालेका छन् ।” उनका अनुसार अहिले अस्पतालमा १५ जना सङ्क्रमित भर्ना भएकामा तीन जनामा सामान्य लक्षण देखिएका छन् । अस्पताल भर्ना भएका सातजना सङ्क्रमित भारतका रहेका छन् । ती सङ्क्रमितमा हल्का ज्वरो आउने, रुघाखोकीका समस्या रहेका छन् । नेपालमा अहिलेसम्म १८ हजार ३७४ सङ्क्रमितमध्ये ७०.५ प्रतिशत अर्थात् १२ हजार ९४७ जना निको भई घर फर्किसकेका छन् । मृत्यु भएका ४४ जनामा पनि दीर्घरोगी, वृद्धा, गर्भवती महिला रहेका छन् । अहिले पाँच हजार ३८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । नेपालमा ५.५ प्रतिशत सङ्क्रमण दर रहेको छ भने सङ्क्रमितको मृत्यु दर ०.२ प्रतिशत र मृत्यु प्रतिदश लाखमा १.४ प्रतिशत रहेको छ । यसैगरी विश्वमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या एक करोड ५६ लाख ६६ हजार ८४० जना रहेका छन् । तीमध्ये ५४ लाख ७५ हजार १६३ जना (३४.९ प्रतिशत) सक्रिय सङ्क्रमित रहेका छन् भने छ लाख ३६ हजार ७८७ जना कोभिड–१९ का कारणले मृत्यु भएका छन् । जुन कूल सङ्क्रमितको ४.१ प्रतिशत हो । यस्तै ९५ लाख ५४ हजार ८९० जना निको भई घर फर्किसकेका छन् । जुन निको हुने ६१ प्रतिशत हो ।
निको हुने बढे
नेपालमा कोरोना सङ्क्रमण मुक्त भएर ‘डिस्चार्ज’ हुने ७० दशमलव ६ प्रतिशत नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल सङ्क्रमित १८ हजार १८३ मध्ये शनिबारसम्म १३ हजार ५३ जना कोरोना जितेर घर फर्केका छन् । प्रदेश नं १ मा ७७५, प्रदेश नं २ मा दुई हजार ८९८, वाग्मती प्रदेशमा ४६८, गण्डकी प्रदेशमा एक हजार १२५, प्रदेश नं ५ मा तीन हजार ९००, कर्णाली प्रदेशमा एक हजार ५८५ र सुदूरपश्चिम प्रदेशमा दुई हजार ३०२ जना सङ्क्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
छ जिल्ला कोरोनामुक्त भएका छन् । प्रदेश नं १ को पाँचथर, भोजपुर र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा र गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कारोनाका सक्रिय सङ्क्रमित नरहेको उनले बताए । पछिल्लो २४ घण्टामा नयाँ १०९ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको चार हजार ७५ नमूना परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । शनिबार सबैभन्दा बढी डोटीमा २६ सङ्क्रमित थपिएका छन् । यस्तै सप्तरीमा ११, पर्सा र डडेल्धुरामा आठ÷आठ, कपिलवस्तु र जाजरकोटमा छ÷छ, दाङमा पाँच, पाल्पा, रौतहट र नवलपरासी पूर्वमा चार, बारा, गुल्मी, कालीकोट, अछाम, दैलेख र बैतडीमा तीन÷तीन, काठमाडौँ, बाँके, बर्दिया र मुगुमा दुई÷दुई तथा झापा, खोटाङ, सर्लाही, चितवन, मकवानपुर, ललितपुर, तनहुँ र हुम्लामा एक÷एक जनामा सङ्क्रण पुष्टि भएको छ । मुलुकभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ३८५ सङ्क्रमितको उपचार भइरहेको छ ।
थप एकको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । बाराको परवानीपुर गाउँपालिका–८ निवासी १७ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता डा गौतमले जानकारी दिए । सङ्क्रमित युवतीमा कोरोनाका लक्षण देखिएको मन्त्रालयले जनाएको छ । युवतीमा अक्सिजनको मात्रा कम देखिएको, पखला लागेको, जीउ काम्ने तथा श्वासप्रश्वासमा समस्या देखिएको उनले जानकारी दिए । यससँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार