दोहा, १४ असार / कतारका उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले कतार सरकारले कोरोना महामारीसंग लड्न डब्ल्यु. एच. ओ.लाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गर्नुभयो । यो रकमले कोरोना भाइरस विरूद्दको खोप पत्ता लगाउंन, उपचारमा सहयोग गर्न तथा चेक जांचका दौरान डब्ल्यु. एच. ओ.लाई सहयोग पुग्ने विश्वास कतारले गरेको छ ।
डब्ल्यु. एच. ओ.लाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गरेको कतारले यसअघि नै खोप विकासमा २० मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेको छ । शनिवार गैर नाफामुलक संस्था ग्लोवल सिटिजनले आयोजना गरेको वेव मिटिङमा कतार सरकारका तर्फबाट मिटिङमा सहभागी उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले उक्त घोषणा गर्नुभएको हो ।
वेव मिटिङमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले विश्वलाई नै आक्रान्त बनाएको कोरोना महामारीसंग लड्न हातेमालो गरेकोमा युरोपियन आयोगलाई धन्यवाद पनि दिनुभयो । त्यसैगरी उहांले कोरोना महामारीले विश्वको स्वास्थ्य व्यवस्थालाई मात्र चुनौति दिएको छैन, विश्व अर्थतन्त्र, शैक्षिक व्यवस्थाका साथै मानवीय मूल्य र मानयतामै ठुलो धक्का पुर्याएको जिकिर गर्दै विश्वमै सबैले एकतावद्द भएर भाइरस विरूद्द लड्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले यो समयमा विश्व नै राजनीतिक रूपले विभाजित नभइ एकजुट भएर कोरोना जस्तो महामारीलाई पराजित गर्न धेरै भन्दा धेरै चेकजांच तथा खोप विकासमा एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।