काठमाडौं (जस)– सरकारले कोरोना परीक्षणको दायरा बढाउन अब निजी ल्याबसँग सहकार्य गर्ने भएको छ । अब निजी ल्याबमा पनि पिसिआर परीक्षण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको हो । आइतवार भएको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अब निजि ल्याबमा पनि पिसिआर परिक्षण हुने जानकारी दिएका हुन् । गौतमका अनुसार आवश्यक मापदण्ड पूरा गरेका निजी स्वास्थ्य संस्थाका ल्याबमा पनि अब कोरोना परीक्षण गरिने र निजी ल्याबमा पिसिआर परीक्षण गर्दा लाग्ने खर्च पनि सरकारले नै व्यवस्था गर्ने बताए ।
साथै निरोगिताको प्रमाणपत्रका लागि सरकारले तीन ल्याब तोकेको उनले जानकारी दिएका छन् । प्रवक्ता गौतमका अनुसार भिसा तथा निरोगिताको प्रमाणपत्र लिनुपरेमा पिसिआर परीक्षण गराउन वीर अस्पताल, पाटन र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालालाई तोकिएको छ । साथै प्रवक्ता गौतमले एक जिल्लाबाट अर्को जिल्लामा जादा परिक्षण गरेर मात्र जानुपर्ने भन्ने विषय मन्त्रालयले निर्णय नगरेको बताउदै यो आवश्यक नभएको बताए । उनले मन्त्रालयले जारी गरेको गाइडलाइन्स अनुसार मात्र कोरोनाको परिक्षण हुने स्पष्ट गरेका छन् ।
नेपालमा आइतबार थप ४२५ जनामा कोरना पुष्टि भएको छ । नयाँ संक्रमितमा ३७५ जना पुरुष र ५० जना महिला रहेका छन् । नयाँ संक्रमितमा मोरङका २५ जना, सुनसरीका एक जना, झापाका एक जना, सप्तरीका १० जना, पर्साका १७ जना, बाराका ९ जना, सर्लाहीका ६ जना, रौतहटका ७८ जना, नवलपरासी पूर्वका २ जना, बझाङका ५ जना, डडेल्धुराका २४ जना, डोटीका २ जना, कैलालीका १२ जना, कंचनपुरका २२ जना, बर्दियाका ३ जना, बाँकेका ३ जना, रुकुमपश्चिमका एक जना, दाङका ५४ जना, प्युठानका २ जना, धनुषाका एक जना, रामेछापका २ जना, गुल्मीका ८ जना, नवलपरासी पश्चिमका २ जना, रुपन्देहीका २५ जना, पाल्पाका १७ जना, सुर्खेतका ४० जना, दैलेखका २९, सिन्धुलीका एक जना, धादिङका २५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार नाघेको छ ।
अहिलेसम्म नेपालमा कुल संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा पुरुषको संख्या ५ हजार ३२४ र महिलाको संख्या ४३६ रहेको छ । त्यस्तै अहिलेसम्म ९७४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्, जसमा ८७७ जना पुरुष र ९७ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । आइतबार गुल्मीका ३५ बर्षिय पुरुषको मृत्यु भएको छ ।