मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

मध्यपूर्वका देशमा राहत नगद निकासा गर्ने एनआरएनएको निर्णय, यस्तो छ राहत प्रक्रिया

शनिबार, बैशाख १३ २०७७

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्ले मध्यपूर्वका विभिन्न मुलुकमा कोभिड– १९ का कारण अप्ठ्यारोमा परेका नेपालीहरुलाई आवश्यक राहत सामग्रीको व्यवस्था गर्न नगद निकासा गर्ने भएको छ ।

संघका अध्यक्ष कुमार पन्तले दिएको जानकारी अनुसार एनआरएनए अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयले कोभिड– १९ राहतका लागि अत्यावश्यक राहत सामग्री व्यवस्था गर्न नगद निकासा गर्ने निर्णय गरेको हो ।

यसअन्तर्गत साउदी अरेबिया, कुवेत र युनाइटेड अरब इमिरेट्समा ५–५ हजार डलर र साइप्रसका लागि ३ हजार डलर निकासा गर्ने निर्णय भएको अध्यक्ष पन्तले जानकारी दिए ।

उनले समस्यामा परेका परेका नेपालीहरुलाई सहयोग गर्न सबैले आ–आफ्नो तर्फबाट योगदान दिन पनि आग्रह गरेका छन् । पन्त भन्छन् ‘संसारका थुप्रै गैरआवासीय नेपाली साथीहरुले राहत सामग्रीको अभाव भइरहेको कुरा हामीलाई जानकारी गराउनुभएको छ । अझै धेरै ठाउँमा राहत सामग्री पठाउनुपर्नेछ। हाम्रो सानो सहयोगले पनि आपतको घडीमा ठूलो राहत पुग्न सक्छ । त्यसैले आआफ्नो तर्फबाट सहयोगमा जुट्न र सकेको योगदान गर्न सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक आह्वान गर्दछु ।’

संघका महासचिव हेम शर्माका अनुसार उक्त रकम निकासाका लागि सम्वन्धित राष्ट्रिय समन्वय परिषद अध्यक्षले कोषाध्यक्ष महेश श्रेष्ठलाई सम्पर्क गर्नुपर्नेछ ।

एनआरएनए आइसिसीले उपलब्ध गराउने उक्त नगद राहत पिडितलाई नगद रकम वितरण नगरी सम्बन्धित देशका एनसिसिले खाद्यान्न खरिद गरी वितरण गरी त्यसको विवरण पठाउनु पर्ने, उनले बताए ।

राहत वितरण सम्वन्धी कार्यविधी तयारी हुने अवस्था रहेको र उक्त कार्यविधी तयार नहुन्जेलसम्म कोषाध्यक्षको परामर्शमा राहत वितरण कार्यलाई अगाडि बढाइने जानकारी पनि महासचिव शर्माले दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार