मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

‘पीपीई’ खरिदमा भ्रष्टाचारको आशंका, निष्पक्ष छानबिनको माग

शनिबार, चैत्र १५ २०७६

काठमाडौं। सरकारले कोरोना उपचारमा संलग्न हुने चिकित्सकका लागि चीनबाट खरिद गर्न लागेको व्यक्तिगत सुरक्षा सामग्री (पीपीई)लगायतका सामग्रीमा ठूलो भ्रष्टाचार हुन लागेको आशंका गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीपीई, पञ्जा, मास्कलगायतका वस्तुहरु एक अर्ब ५० करोड रुपैयाँमा खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

तर, यी सामग्रीको खरिदमा चरम आर्थिक अनियमितता हुन लागेको आशंका गरिएको छ ।

निजी क्षेत्रले सोही गुणस्तरका सामग्री सरकारलाई उपलब्ध गराएकोभन्दा तेब्बर मूल्यमा चीनबाट किन्ने प्रक्रिया अघि बढाइएपछि भ्रष्टाचारको आशंका उब्जिएको हो ।

चौधरी ग्रुपले एक हजार रुपैयाँमा प्रतिसेट पीपीई सरकारलाई उपलब्ध गराएको छ ।

उद्योगपति वसन्त चौधरीले आफूहरुले प्रतिसेट तीन हजार रुपैयाँको दरले पीपीई उपलब्ध गराएको जानकारी ट्वीटमार्फत् दिएका छन् ।

तर, स्वास्थ्य मन्त्रालयले भने सोही सामग्री प्रतिसेट १५ हजार रुपैयाँमा किन्न लागेको छ ।

सरकारले चीनबाट ल्याउन लागेको सामग्री लिन नेपाल वायुसेवा निगमको विमान शनिबार चीन गइसकेको छ ।

पीपीई खरिदको यो प्रसंग सामाजिक सञ्जालहरुमा ‘भाइरल’ बनेको छ ।

संकटको दुरुपयोग गर्दै आर्थिक लाभ लिनु गम्भीर अपराध हो । यसको निष्पक्ष छानबिनको माग पनि उठेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार