काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले कोरोना संक्रमणबाट जोगिन विभिन्न सतर्कता अपनाउन अनुरोध गरेका छन् । पन्तले एक विज्ञप्ति जारी गर्दै उचित सुरक्षा सतर्कताका उपाय अपनाउन र आफू सुरक्षित रहेर एक–अर्कालाई सहयोग पुर्यााउन विनम्र अनुरोध गर्दछु भनेका छन् । यस परिस्थितिमा संयम नगुमाइकन सकेसम्म आफू रहेकै स्थानबाट प्रकोपसँग जुध्नुको विकल्प नरहेको पन्तले उल्लेख गरेका छन् ।
गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी) हरू पनि उचित सहयोग र समन्वयका निम्ति प्रयासरत रहको उल्लेख गर्दै यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समितिको बैठक शुक्रबार बसेको र शनिबार सम्पूर्ण एनसीसीसँग छलफल गर्दै गरेको बताएका छन् । पन्तले कतै कुनै समस्या परेमा वा सहयोग आवश्यक परेमा सम्बन्धित एनसीसी पदाधिकारी एवं फोकल पर्सनलाई जानकारी गराइदिन पनि अनुरोध गरेका छन् ।
स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा
हार्दिक नमस्कार ।
यतिखेर विश्वभर विषम परिस्थिति उत्पन्न भएको छ ।
विश्वव्यापी प्रकोपको रुप लिएको कोभिड–१९ (#COVID19) को संक्रमणबाट जोगिन संसारभर जो जहाँ हुनुहुन्छ, उचित सुरक्षा सतर्कताका उपाय अपनाउन र आफू सुरक्षित रहेर एक–अर्कालाई सहयोग पुर्यााउन विनम्र अनुरोध गर्दछु । यस परिस्थितिमा संयम नगुमाइकन सकेसम्म आफू रहेकै स्थानबाट प्रकोपसँग जुध्नुको विकल्प छैन ।
गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् (एनसीसी)हरू पनि उचित सहयोग र समन्वयका निम्ति प्रयासरत छन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ कोभिड–१९ नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज बसेको छ । शनिबार सम्पूर्ण एनसीसीसँग छलफल गर्दै छौँ । कतै कुनै समस्या परेमा वा सहयोग आवश्यक परेमा सम्बन्धित एनसीसी पदाधिकारी एवं फोकल पर्सनलाई जानकारी गराइदिन पनि अनुरोध छ ।
देशमा संक्रमण फैलिन नदिन नेपाल सरकारले लिएका धेरै पहलकदमी र सतर्कता सह्राहनीय छन् । विदेशमा रहनुभएका नेपाली, खासगरी वैदेशिक रोजगारीमा रहनुभएका दिदीबहिनी, दाजुभाइका हकमा पनि सम्बन्धित देशले सुरक्षा र सतर्कताका पर्याप्त बन्दोबस्त गरेको छ–छैन भन्नेतर्फ विचार पुर्याइनेछ भन्ने अपेक्षा छ । स्वदेश फर्किन सबै प्रकारका यात्रुलाई बन्देज लगाउँदा यस विषम परिस्थितिमा नेपालीहरु आफ्नै घर फर्किन नसक्ने अवस्था बनेको छ। मलाई विश्वास छ, नेपाल सरकारले संसारका कुनै पनि नेपालीलाई सहाराविहीन भएको महसूस हुन दिने छैन । यसका लागि सक्दो सहयोग र समन्वय गर्न गैरआवासीय नेपाली संघ हरबखत तत्पर र नेपाल सरकारको साथमा रहेको छ। यसै सन्दर्भमा संघले माननीय गृह र परराष्ट्र मन्त्रीसित शुक्रबार छलफल गर्न लागिरहेको जानकारी समेत गैरआवासीय नेपाली समुदायलाई गराउँदछु । kumar pant chairman nrna