काठमाडौं(जस)–मनाङ मस्र्याङ्दी क्लबले आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालमा शनिबार भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबले पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । यससँगै मनाङले हालसम्म रारा गोल्डकप ६ पटक जितेको छ ।
निर्धा्रित ९० मिनेटको समयमा दुवै टिम गोलरहित बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त ३० मिनेटमा पनि दुवै टिमले गोल नगरेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । पेनाल्टीमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी र सुरज विके र रन्जन विष्टले गोल गरेका थिए भने मनाङका निशान लिम्बुको पेनाल्टी पुलिसका गोलकिपर रोशन खड्काले असफल बनाएका थिए ।
त्यस्तै पुलिसका भोलानाथ सिलवाल, हेम तामाङ र बुद्ध बल तामाङले गोल गरे भने तेज तामाङ र अजित भण्डारीले गोल गर्न सकेनन् । उपाधि जितेसँगै मनाङले १० लाख १ हजार पुरस्कार पाएको छ भने उपविजेता बनेको पुलिसले ५ लाख १ हजार पाएको छ । सहारा क्लब पोखराको आयोजनामा गत २२ फागुनबाट शुरु भएको प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका थिए ।