भक्तपुर(जस)–वाग्मती प्रदेश सरकारको ‘एक स्थानीय तह एक कभर्डहल’ कार्यक्रमअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–७ हात्तीगौँडामा कभर्डहल निर्माण हुने भएको छ । प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री महेश बस्नेतको विशेष पहलमा वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालसहितको टोलीले कभर्डहल निर्माण क्षेत्रको मङ्गलबार स्थलगत अध्ययन तथा निरीक्षण गर्नुभएको थियो ।सो अवसरमा मन्त्री दुलालले कवर्डहल निर्माणको योजना तत्काल कार्यान्वयनमा ल्याउने उल्लेख गर्दै विकास र समृद्धिको यात्रामा भक्तपुर वाग्मती प्रदेशको लागि मात्र नभई सिङ्गो मुलुकको लागि नै मार्गदर्शक भएको बताए । उनले प्रदेश सरकारले भक्तपुरको कुनै पनि जनमुखी योजनालाई यो वा त्यो बहानामा रोक्ने नभई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए ।
सांसद बस्नेतले कवर्डहल निर्माणस्थलका बारेमा मन्त्री दुलाललाई जानकारी गराउँदै भक्तपुरमा जनमुखी योजना निर्माणलाई विशेष प्राथमिकता दिन प्रदेश सरकारसंग आग्रह गरे ।हात्तीगौँडामै सांसद बस्नेतले क्षेत्र विकास कोष (सांसद कोष)बाट रु ५० लाखको लागतमा फुटसललगायत विभिन्न खेलकूद क्षेत्र निर्माणको लागि शिलान्यास गर्नुभएको थियो । उक्त स्थानलाई पर्यटकीयस्थल तथा खेलकूद क्षेत्रको हबको रुपमा विकास गर्ने लक्ष्यका साथ सांसद बस्नेतले अघिल्लो वर्ष सांसद कोष तथा नगरपालिकाको साझेदारीमा फुटसनको निर्माण सम्पन्न भइसकेको छ । सांसद बस्नेतले भक्तपुरको आर्थिक समृद्धिको आधारको रुपमा खेलकूद क्षेत्रलाई विकास गर्ने लक्ष्यका साथ आफूले विभिन्न योजना ल्याएको जानकारी दिए ।