मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

च्याम्पियन्स लिग फुटबल, एटलान्टा क्वार्टरफाइनलमा, टोट्टनहाम बाहिररियो

बुधबार, फाल्गुन २८ २०७६

काठमाडौं(एजेन्सी)–स्ट्राईकर जोसिप इलिसिसको ह्याट्रिकसहित चार गोल गरेपछि इटालियन क्लब एटलान्टा पहिलो पटक च्याम्पियन्स लिग फुटबको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको दोस्रो लेगमा एटलान्टाले स्पेनिस प्रतिद्वन्द्वी भ्यालेन्सियालाई ४–३ गोलले हरायो । पहिलो लेगमा ४–१ गोलको जित निकालेको एटलान्टा समग्रमा ८–४ गोलले विजयी भयो । एटलान्टाको जितमा चारवटै गोल जोसिस इलिसिसले गरे । घरेलु मैदानमा भ्यालेन्सियाका लागि केभिन गेमेरियोले दुई र फेरान टोरेसले एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।
प्रतिस्पर्धात्मक खेलमा एटलान्टाले खेलको तेस्रो मिनेटमै पेनाल्टी मार्फत अग्रता लिएको थियो । डिबक्सभित्र भ्यालेन्सियाका माउक्टर डिएकहवीले इलिसिलाई लडाएपछि एटलान्टाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई इलिसिस आफैले सदुपयोग गरे । २१औं मिनेटमा केभिन गेमेरियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
४३औं मिनेटमा इलिसिसले पेनाल्टीमा गोल गर्दै एटलान्टालाई पुनः अग्रता दिलाए । ५१औं मिनेटमा गेमेरियोले बराबरी गोल फर्काए । ६७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । त्यसपछि एटलान्टाको जोसिस इलिसिसले ७१औं मिनेटमा ह्याट्रिक पूरा गरे । इलिसिसले ८२औं मिनेटमा ब्यक्तिगत चौथो गोल गर्दै टालीलाई सजिलै क्वार्टरफाइनलमा पुर्याए ।
टोट्टनहाम च्याम्पियन्स लिगबाट बाहिरियो
टोट्टनहाम युइएफए च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । मङ्गलबार राति भएको खेलमा साविक उपविजेता टोट्टनहाम जर्मन प्रतिद्वन्द्वी आरबी लइपजिगसँग ३–० गोलले पराजित भयो । जित्नै पर्ने खेलमा टोट्टनहामले विर्सनलायक प्रदर्शन गरेको थियो । पहिलो लेगमा १–० को जित निकालेको लेइपजिग समग्रमा ४–० ले विजयी भयो ।
घरेलु मैदानमा लेइपजिगलाई जिताउन मार्सेल सवित्जरले दुई तथा इमिल फोर्सवर्गले एक गोल गरे । १०औं मिनेटमा मार्सेल सवित्जरले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । २१औं मिनेटमा सवित्जरले हेड गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । ८७औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै लेइपजिगको क्वार्टरफाइनल यात्रा सहज बनाएका थिए । दोस्रो हाफका दुईवटा उत्कृष्ट गोलको अवसर बनाएप्नि टोट्टनहामको प्रयास सफल हुन सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार