मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

इङ्लिस प्रिमियर लिग फुटबलमा लेस्टरको सानदार जित

मंगलबार, फाल्गुन २७ २०७६

काठमाडौं(एजेन्सी)–लेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लामाथि सानदार जित निकालेको छ । घरेलु मैदानमा सोमबार राति भएको खेलमा लेस्टरले भिल्लालाई ४–० गोलले हरायो । एकपक्षीय खेलमा लेस्टरलाई जिताउन हार्वे बार्नेस र जेमी भार्डीले दुई दुई गोल गरे । ४०औं मिनेटमा हार्वे बार्नेसले गोल गर्दै लेस्टरलाई अग्रता दिलाए ।
दोस्रो हाफमा तीन गोल गरेको लेस्टरले दोस्रो गोल पेनाल्टीमा थपेको थियो । ६३औँ मिनेटमा जेमी भार्डीले पेनाल्टीको सदुपयोग गरे । बार्नेसको प्रहारलाई डिबक्सभित्र एस्टनका टेरोन मिङ्सले ह्यान्ड गरेपछि लेस्टरले पेनाल्टी पाएको थियो । ७९औँ मिनेटमा भार्डीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता थप बलियो बनाए । ८५औं मिनेटमा मार्क अलब्राइटनको पासमा बार्नेस ब्यक्तिगत दोस्रो गोल थप्दै लेस्टरलाई सानदार जित दिलाएका थिए ।
जितसँगै तेस्रो स्थानमा रहेको लेस्टरले २९ खेलबाट ५३ अंक बनाएको छ । लेस्टरले अर्काे सिजनको च्याम्पियन्स लिगमा सिधै छनोट हुने सम्भावना पनि बलियो बनाएको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५७ र शीर्ष स्थानमा रहेको लिभरपुलको ८२ अंक छ । लेस्टरसँगको हारपछि २५ अंक बनाएको भिल्ला १९औं स्थानमा छ । भिल्लाले रेलिगेसनबाट बच्न संघर्षरत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार