भोपाल, मध्य प्रदेश । मध्यप्रदेशमा भारतीय काँग्रेसको तर्फबाट लामो समय मध्यप्रदेशमा नेतृत्वदायी भूमिकामा रहेका ज्योर्तिआदित्य सिन्धियाद्वारा मङ्गलबार राजीनामा दिनुभएको छ । सिन्धयाको राजीनामासँगै यस राज्यबाट संसद्मा प्रतिनिधित्व गर्ने १९ सांसदसहित राज्य सरकारका थप छ मन्त्रीले पनि राजीनामा गरेका छन् । सिन्धियाले अब अघि बढ्ने समय भएको भन्दै राजीनामाको घोषणा गर्नुभएको छ । निकट मानिने सांसदले आफूहरू कमलनाथ नेतृत्वको सरकारबाट बाहिरिने घोषणासँगै उहाँको राजीनामा आएको हो ।
“सुरूदेखि नै मेरो चाहना मध्यप्रदेशका साथै समग्र भारतका जनताको सेवा गर्नु रहेको छ । मेरो विचारमा काँग्रेसमा बसेर यो सम्भव छैन त्यसैले मैले राजिनामा दिएको छु,” उहाँले राजीनामामा भन्नुभएको छ । सोमबार राति बसेको प्रदेश सरकारको बैठकमा मध्यप्रदेशका २० मन्त्रीले मुख्यमन्त्री कमलनाथलाई राजीनामा बुझाएका थिए । मुख्यमन्त्रीले उनीहरूको राजीनामा स्वीकृत गर्दै नयाँ मन्त्रीमण्डल गठन गर्ने तयारी गरेका काँग्रेस स्रोतले बताएको छ ।
यसअघि सोमबार दिगविजय सिंगसहितका काँग्रेस नेताले भारतीय जनता पार्टीले केही सांसदलाई किनेको र कमलनाथ नेतृत्वको मध्यप्रदेशको सरकारलाई ढाल्ने षडयन्त्र गरेको आरोप लगाएका थिए । मध्यप्रदेशमा काँग्रेसले कमलनाथको नेतृत्वमा सरकार बनाएपछि पार्टीमा आन्तरिक कलह बढेको थियो । काँग्रेसबाट राजीनामा दिनुअघि उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । उक्त भेटमा केन्द्रीय गृहमन्त्री अमित शाह पनि सहभागी हुनुहुन्थ्यो । उहाँहरूबीच भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक भएको छैन । अब मध्यप्रदेशको कमलनाथ सरकार सङ्कटमा फसेको छ । यसैबीच मुख्यमन्त्री कमलनाथको घरमा काँग्रेसको आपत्कालिन बैठक अहिले बसेको छ ।