आसुनसिओन, ब्राजिलका विश्वप्रसिद्ध फुटबल खेलाडी रोनाल्डिन्होले जानाजान नक्कली राहदानी (पासपोर्ट) नबोकेको उनका ब्राजिली वकील सर्जिओ क्वीरोजले दाबी गरेका छन् । क्वीरोजले रोनाल्डिन्होलाई तत्काल रिहा गर्न पाराग्वेका सरकारी अधिकारी समक्ष आग्रह पनि गरेका छन् । पाराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो र उनका भाई रोबर्टोले नक्कली कागजात पेश गरेको पाराग्वेका अधिकारीले बताएका छन् ।
उनीहरु दुबै जना यही मामिलामा विगत तीन दिनदेखि पाराग्वेको राजधानी आसुनसिओनको जेलमा थुनिएका छन् । वकील क्वीरोजले भने, “रोनाल्डिन्होले कुनै अपराध गरेका छन्ैन किनभने उनलाई दिइएको पासपोर्ट नक्कली हो भन्ने उनलाई पनि थाहा थिएन ।”पाराग्वेका अधिकारीले जेलमा रोनाल्डिन्होको व्यवहार निकै राम्रो भएको र न्यायाधीशले पनि उनप्रति सहानुभूति देखाउने सम्भावना रहेको बताएका छन् । रोनाल्डिन्हो र उनका भाइ रोबर्टो ब्राजिलबाट गत बुधबार पाराग्वे आइपुग्नु भएको थियो । विमानस्थलमा सामान्य जाँच गरेर होटल पुगेका रोनाल्डिन्हो र उनका भाइको कोठामा केही घण्टापछि प्रहरीले छापा मारेको थिए ।