काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगामा बार्सिलोनाले संघर्षपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल सोसियडाडमाथि १–० गोल अन्तरको जित हासिल गरेको हो । बार्सिलोनाको जितमा खेलको एक मात्र गोल लियोनेल मेसीले खेलको ८१औ मिनेटमा पेनाल्टीबाट गरेका थिए । यस अघि एल क्लासिको हारेको बार्सिलोना यो जितसँगै ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । यो जितपछि बार्सिलोनाको २७ खेलमा ५८ अंक भएको छ भने एक खेल कम खेलेको रियल म्याड्रिडको ५६ अंक रहेको छ । त्यस्तै रियल सोसीयडाडको भने २७ खेलमा ४३ अंक छ भने लिगको छैठौ स्थानमा रहेको छ ।
एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिए
स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिएका छन् । शनिबार राति सम्पन्न खेलमा एटलेटिको र सेभिया २(२ गोलको बराबरीमा रोकिएका हुन् । घरेलु मैदानमा बराबरीमा रोकिएपछि एटलेटिकोले लिगको टप चारमा उक्लिने अवसर फेरी एक पटक गुमाएको छ । एटलेटिकोका लागि जोआओ फेलिक्स र अल्भारो मोराटाले एक एक गोल गरेका थिए भने सेभियाका लागि लूक डि जोंग र लुकास ओकाम्पोसले एक एक गोल गरेका थिए । यो बराबरीपछि सेभियाको २७ खेलमा ४७ अंक छ र लिगको तेस्रो स्थानमा छ भने एटलेटिको भने २७ खेलमा ४५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।