मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

१८ औं आहा रारा गोल्डकपको खेलतालिका सार्वजनिक

मंगलबार, फाल्गुन २० २०७६

आयोजक र ब्रिगेडबीच उद्घाटनमा प्रतिस्पर्धा हुने
पोखरा(जस)–मोफसलको प्रतिष्ठित क्लब सहारा क्लब पोखराले बिहीबारदेखि पोखरा रंगशालामा १८ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । १० टिम सहभागी हुने सो प्रतियोगिताको उद्द्धघाटन खेलमा आयोजक र ब्रिगेड ब्वाइजबीच प्रतिस्पर्धा हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइयो ।
निर्माणाधीन पोखरा रंगशालामा २२ फागुनदेखि १ चैतसम्म हुने सो प्रतियोगितामा रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल आयाल निगम मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, संकटा क्लब, झापा–११ फुटबल क्लब, भारतको गान्तोक सिटी फुटबल क्लब समेत प्रतिष्पर्धामा छन् । लिगविजेता मच्छिन्द्र क्लबको भने सहभागिता छैन । क्लबले यसपालि पुरस्कार राशिमा वृद्धि गरेको छ । विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् । गत संस्करण तुलनामा विजेताको लागि २ लाख र उपविजेताको लागि १ लाख रुपैयाँ पुरस्कार वृद्धि गरिएको हो । समयक्रम अनुसार यसपालि पुरस्कार राशि बढाइएको प्रतियोगिता मूल आयोजक समिति संयोजक एवं क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
प्रतियोगिताबाट १ करोड १८ लाख रुपैयाँ आम्दानी र ९९ लाख ३८ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । यस्तै, सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सुजल श्रेष्ठलाई नगद ३५ हजार सहित सम्मान गरिनेछ । मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले आफ्नो विरासतपछि पनि छोराहरुले फुटबल विकासमा सहयोग गर्ने उद्घोष गरे । २०५५ सालमा पोखरामा स्थापित मोफसलको चर्चित सहारा क्लब फुटबल मार्फत सामाजिक सेवामा सक्रिय रहँदै छ ।
क्लबले सहारा एकेडेमी संचालन गरी हाल तेस्रो ब्याचको रुपमा १४ जिल्लाका २४ बालकलाई फुटबल प्रशिक्षणसहित आवासीय सुविधा एवं शिक्षादीक्षा प्रदान गर्दैआएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगितालाई सुरु संस्करणदेखि हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले मुख्य प्रायोजन गर्दै आएको छ । १७ औं संस्करणको विजेता रुस्लान थ्रीस्टार र उपविजेता त्रिभुवन आर्मी हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार