धरान (जस)– नेपाल आयल निगम मनाङ मस्र्याङ्दी क्लबले २२ औं बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नेपाल पुलिस क्लबलाई ३–१ ले हराउँदै मनाङ चौथो पटक बुढासुब्बा गोल्ड कप जित्न सफल भएको हो । योसँगै मनाङ तीनै पटकको फाइनलमा पुलिसलाई हराउन सफल भएको छ । यस महिना सम्पन्न लिगमा पनि मनाङले पुलिसलाई २–० ले हराएको थियो । मनाङको जितमा दयानन्द सिंह, विशाल लिम्बु र विमल रानाले गोल गरेका थिए । पुलिसका लागि भोला सिलवालले पेनाल्टीमा गोल फर्काएका थिए ।
धरान रंगशालामा शनिबार दयानन्द सिंहको गोलबाट मनाङले अग्रता लिएको थियो । उनले ११ औं मिनेटमा अग्रता लिएको थियो । रक्षक सुमन सुवेदी र गोलकिपर सञ्जिव श्रेष्ठको तालमेल अभावमा मनाङ अग्रता लिन सफल भएको हो ।
सुमनको ब्याक पासमा आएको बललाई सञ्जिवले अघि बढाउन ढिलाई गरेपछि त्यहि बल खोस्दै दयानन्दले गोल गरेका हुन् । बुढासुब्बामा प्रतियोगितामा दायानन्दको यो चौथो गोल हो । ५० औं मिनेटमा विशालले गोल थपे । भोलाले ६५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए । पेनाल्टी एरियामा जुमानु राईलाई मनाङका खेलाडीले लडाएपछि पुलिसले पेनाल्टी पाएको थियो । ६ मिनेटको इन्ज्युरी समयमा विमलले गोल गर्दै मनाङको जित निश्चित गरेका थिए । उपाधिसहित मनाङले १० लाख र पुलिसले ५ लाख रुपैयाँ प्राप्त गरेको छ ।