काठमाडौं(जस)–नेपाल आयल निगम मनाङ मर्स्याङ्दी क्लबले २२ औं बुढासुब्बा गोल्डकपको फाइनलमा स्थान पक्का गरेको छ । बुधबार धरान रंगशालामा भएको सेमिफाइनलमा युनाइटेड कर्साङ फुटबल क्लबलाई २–० ले पराजित गर्दै मनाङले उपाधि भिडन्तमा स्थान बनाएको हो । मनाङको जितमा विमल राना र दयानन्द सिंहले गोल गरे । खेलको २० औं मिनेटमा कमल श्रेष्ठको क्रसमा विमलले हेडरमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाए ।
दोस्रो हाफको इन्ज्युरी समयमा दयानन्दले अग्रता दोब्बर पार्दै जित सुनिश्चित गरे । उनले निशान लिम्बुको क्रसमा हेडरमार्फत गोल गरेका थिए । यससँगै मनाङ मोफसलको पहिलो फाइनलमा प्रवेश गरेको छ । यसअघि सताशिधाम गोल्डकपमा मनाङ पहिलो खेलमा नै आयोजकसँग पराजित भएको थियो । बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनलमा विहीबार लिग विजेता सानमिगेल मछिन्द्र क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । फाइनल शनिबार हुनेछ ।