मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोनाबाट ज्यान गुमाउनेको संख्या २४ सय नाघ्यो, दक्षिण कोरियामा एकै दिन दुई सय नयाँ बिरामी

सोमबार, फाल्गुन १२ २०७६

काठमाडौँ(जस)– कोभिड १९ अर्थात कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६५ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २० जना गरी ज्यान गुमाएका समाचार संस्था सीएनएनले जनाएको छ । यस्तै कोरोना संक्रमितको संख्या ७९ हजार ९ सय ३० जना पुगेको छ ।

यसैबीच दक्षिण कोरियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । ६ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ । हिजो एकै दिन झण्डै २ सय नयाँ बिरामी थपिएका हुन् । चीनबाहिर यो सबैभन्दा धेरै संक्रमण हो ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनले देशले अहिले धेरै ठूलो चुनौतीको सामना गरिरहेको भन्दै सचेत रहन सबैलाई आग्रह गर्नुभएको छ । देगु लगायतका सहरहरुमा आवातजावात बन्द गरिएको छ ।

कोरियाले सेनालाई सीमित घेरामा ल्याएको छ भने कोरोनाबाट बच्नको लागि अपनाउनुपर्ने सावधानीबारेमा चेतना अभिवृद्धिको कामलाई तिब्रता दिएको छ । कोरोना परीक्षण र उपचारको लागि अबैध रुपमा बसिरहेका विदेशीहरुलाई पनि परीक्षण र उपचार गर्न थालेको छ ।

यसैबीच युरोपमै सबैभन्दा धेरै कोरोना भाइरस सङ्क्रमितहरू भेटिएपछि इटालीले आपतकालीन योजना घोषणा गरेको छ । प्रधानमन्त्री जुजेपेले आपतकालीन योजना घोषणा गर्दै उत्तरी क्षेत्रका लोम्बार्डी र भेनेटोका १२ वटा सहरमा नाकाबन्दीको घोषणा गर्नुभएको हो ।

ती सहरहरुलाई अहिले क्वारेन्टाइनको अवस्थामा राखिएको छ । इटालीमा कोरोनाका कारण तीन जनाको ज्यान गएको छ भने १ सय ५२ जना संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार