काठमाडौं(एजेन्सी)–इङ्लिस महारथी लिभरपुलाई युइएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब एथ्लेटिको म्याड्रिड र पीएसजीले नमिठो झट्का बेहोरेका छन् । मंगलबार राति भएको खेलमा लिभरपुल एथ्लेटिकोसँग १–० गोलले पराजित भयो । प्रिमियर लिग फुटबलको उपाधि नजिक रहेको लिभरपुलको पछिल्लो १५औँ खेलमा यो दोस्रो हार हो । लिभरपुल यसअघि कारबाओ कपमा एस्टन भिल्लासँग ५–० गोलले पराजित भएको थियो । तर त्यस खेलमा लिभरपुलले दोस्रो रोजाईका खेलाडी उतारेको थियो ।
घरेलु मैदानमा एट्लेटिकोलाई जिताउन साउल निग्वेजले निर्णायक गोल गरे । प्रतिस्पर्धात्मक खेलमा साउलले खेलको चौथो मिनेटमै गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । पाहुना टोली लिभरपुल सम्हालिन नपाउँदै साउलले कप्तान कोकीको पासमा साउलले उत्कृष्ट गोल गरेका थिए । खेलको सुरुमै गोल खाएको लिभरपुलले अन्तिमसम्म बल पोसेसनमा पकड जमाएप्नि गोल फर्काउन सकेन । लिभरपुलका लगातार प्रयासलाई एथ्लेटिकोको रक्षापंक्तिले विफल पारिदिएको थियो । अब लिभरपुललाई अगाडी बढ्न दोस्रो लेगमा कम्तीमा २–० गोलको जित निकाल्नु पर्ने हुन्छ । एथ्लेटिकोलाई बराबरी गरे प्रयाप्त हुनेछ । दुई यी टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदानमा मार्च ११ तारिख हुनेछ ।
हालान्डको गोलमा पीएसजी डर्टमन्डसँग स्तब्ध
फ्रेन्च महारथी पेरिस सेन्ट जर्मन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमन्डसँग स्तब्ध बनेको छ । मङ्गलबार राति भएको खेलमा पीएसजी डर्टमन्डसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । घरेलु मैदान डर्टमन्डलाई जिताउन दुवै गोल नर्वेका युवा स्ट्राईकर अर्लिङ ब्राउट हालान्डले गरे । पीएसजीका लागि नेयमारले गोल फर्काए पनि हार टार्न सकेनन् । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
हालान्डले ६९औं मिनेटमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । राफेल गुरेरोको प्रहार मिस भएपछि सोही बललाई हालान्डले गोल गरेका थिए । त्यसपछि नेयमारले ७५औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । नेयमारले केलियन एमबाप्पेको पासमा गोल गरेका थिए । पीएसजीको बराबरीलाई हालान्डले लगतै तोड्न सफल भए । ७७ औँ मिनेटमा हालान्डले डिबक्स छेउबाट गोल गर्दै टोलीलाई जीत दिलाए । हालान्डको सशक्त प्रहारलाई पीएसजीका गोलरक्षक केलर नाभासले नियाल्नसमेत सकेनन् । जारी सिजन उच्च लयमा रहेका हालान्डले २९ खेलमा ३९ गोल गरिसकेका छन् । डर्टमन्ड आएपछि उनले ११ गोल गरेका छन् । पहिलो लेगको हारले पीएसजी दबाबमा रहेको छ । दोस्रा लेग मार्च ११ तारिख पीएसजीको मैदानमा हुनेछ ।