शनिबार, फाल्गुन ३ २०७६
दातो एथी
संस्थापक, प्रबन्ध निर्देशक
एटी ग्रुप अफ कम्पनी
दातो एथी मलेसियामा एटी ग्रुप अफ कम्पनीको संस्थापक, प्रबन्ध निर्देशक हुनुहन्छ । मलेसियामा सुरक्षा व्यवसाय कम्पनीलगायत उहाँ चलचित्र निर्माणको क्षेत्रमासमेत सक्रिय हुनुहन्छ । मलेसियामा उहाँको सुरक्षा कम्पनीमार्फत सयौं नेपाली सुरक्षाक्षेत्रमा कार्यरत छन् । नेपालीहरुमाथि निकै ठूलो सदभाव र माया ममता राख्ने मुथ्थु नेपाल र नेपाली आफुलाई निकै मनपर्ने बताउँछिन । नेपालको भ्रमणसमेत गरेकी मुथ्थु आफुलाई नेपालको सुन्दरताले लोभ्याएको र आफु नेपालीको मेहनत, लगनशीलता र इमान्दारिताको प्रशंशक रहेको बताउँछिन् । नेपाल र नेपालप्रति सकारात्मक सोच राख्ने मुथ्थुसँग मलेसिया र मलेसियामा रहेका नेपाली तथा उहाँको व्यवसाय तथा चलचित्र क्षेत्रलगायत विविधि विषयमा जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप-
यहाँ एटी गु्रप अफ कम्पनी चलाईरहनुभएको छ, यहाँको बारेमा बताइदिनुहोस न ?
म मेरो व्यवसायमा महत्वाकांक्षी र दुरदृष्टि राख्ने एक साधारण व्यक्ति हुँ । म एक सानो गाँउमा जन्मिएको मान्छे हु । तर, नौ भाइबहिनी भएको ठूलो परिवारबाट । हाल म सुरक्षा कम्पनीलगायत अन्य व्यवसायमा पनि सक्रिय छु । यसरी नै मलेसियामा मैले मेरो एउटा छुट्टै पहिचान बनाएकी छु । एउटा सक्रिय जीवनमा विश्वास गर्ने भएकाले कामलाई सधै प्राथमिकता दिएर अघि बढिरहेकी छु ।
यहाँको सुरक्षा कम्पनीमा थुप्रै नेपालीहरुले काम गरिरहेका छने भन्ने सुनिन्छ, कति जना नेपाली कामदारहरु छन ?
म संख्या त खुलाउन सक्दिन, तर ठूलो संख्यामा नेपालीहरु हाम्रो कम्पनीमार्फत काम गरिरहनुभएको छ । व्यवसायको नीतिअनुसार केही कुराहरु तथ्यमा खुलाउन मिल्दैन । यो एक व्यवसाय हो । संख्या खुलाउन नसकेकोमा माफी चाहान्छु । तर, यति भन्न सक्छु कि मेरो कम्पनीमा ठूलो संख्यामा नेपालीहरुले ईमान्दारिताका साथ काम गरिरहेका छन । तर, सबैभन्दा खुशीको कुरा के हो भने, मसँग धेरै नेपालीहरू सहकार्य गरेर काम गरिरहेका छन । म वास्तवमै मेरो व्यवसाय र व्यक्तिगतरुपमा नेपालीहरुलाई विश्वास र प्रेम गर्दछु ।
मलेसियामा सबै सुरक्षा गार्डहरू नेपालबाट मात्र ल्याईन्छ, किन ?
–हो, विश्वभरि नै एउटा त्यस्तो छाप परेको छ कि केवल नेपालीहरुले मात्र राम्रोसँग सुरक्षा गार्डको रूपमा काम गर्न सक्दछन । सोहीअनुसार मलेसियामा पनि नेपालीहरु ठूलो संख्यामा सुरक्षा गार्डको रुपमा छन् । पक्कै पनि यसको कारण हो–नेपाली असल चरित्र र कुशल कामको लागि प्रख्यात छन् । नेपालीहरु धेरै इमान्दार, कडा परिश्रम र लगनशील हुन्छन । त्यसैले मलेसियन सरकारले नेपालीहरुलाई सुरक्षा गार्डको रूपमा ल्याउन रुचाउँछन । नेपालीहरु एकदमै जिम्मेबारी हुन्छन धेरै इमान्दार पनि हुन्छन । उदाहरणको लागि, एक समय मेरो नजर सिंगापुरको एकजना मान्छेमा पर्यो । उनले झोला बिर्सिएर गए । त्यो झोला मेरो एक नेपाली कर्मचारीले भेटेछन, झोलामा चेकगर्दा लगभग २ लाख जति सिंगापुरे डलर रहेछ । तब, नेपाली कर्मचारीले कहिले त्यो झोला छाडने मान्छे झोला खोज्दै आउला र त्यो झोला उनलाइ बुझाउला भनेर कुरिबसे र झण्डै आधा घण्टा पछि त्यो झोला हराउने सिंगापुरे मान्छे झोला खोज्दै आईपुगे । इमान्दार नेपालीले झोला उनलाइ बुझाए र भने कृपया तपाईको सामान ठीक छ कि छैन जाँच गर्नुहोस भने । झोलावालाले जाँच गरे, सबै पैसा जस्ताको तस्तै त्यही छ । तब सिंगापुरको मान्छे असाध्यै खुसी भएर नेपाली कर्मचारीलाई धन्यवाद दिए । त्यसैले मलाई लाग्छ कि नेपाली एकदमै इमान्दार र असल हुन्छन । त्यसैले नेपालीहरुलाई म मेरो परिवारलाई जस्तै माया र बिश्वास गर्छु ।
तपाई सुरक्षा व्यावसायी हुनुको अलवा चलचित्र निर्माता तथा निर्देशक पनि हुनुहुन्छ । यो क्षेत्रमा कसरी आउनुभयो ?
हो म एक सफल सुरक्षा व्यवसायीको अलवा नवचलचित्रकर्मी पनि हुँ । मैले चलचित्रहरु निर्माण गर्ने तथा निर्देशन गर्ने कार्य थालेको लगभग २ वर्ष पुरा हुँदैछ । म चलचित्र निर्माण कम्पनी सञ्चालन गर्दैछु । हामीले पहिले नै चारवटा चलचित्र निर्माण गरिसकेका छौ र त्यसबाट समाजकल्याणको लागि पैसा संकलन गरिरहेका छौं । वास्तवमा म जुन पाँचौं चलचित्र निर्माण÷निर्देशन गर्दै छु त्यसमा एक नेपाली नायिकालाई अभिनय गराउन चाहन्छु । तर मेरो व्यस्तताले गर्दा राम्रो नायिका भेट्टाउन सकिरहेको छैन । साथै, मलाई लाग्न थालेको छ कि– भविष्यमा म एउटा नेपाली चलचित्र पनि निर्माण गर्नेछु । तपाईहरुजस्तो संचारकर्मी मित्रहरुले मलाई त्यहाँ साथ सहयोग गर्नुहुनेछ भन्नेमा म ढुक्क छु । हुन सक्छ, सँगै हामी एक राम्रो कहानी प्राप्त गर्न सक्दछौं । यदि त्यसो भयो भने, म निश्चित रूपमा नेपाल र नेपालीहरुको लागि एक फिल्म बनाउनेछु ।
यस वर्षमा नयाँ योजना के छ, नेपालीहरुसँग थप के कति सहकार्य गर्ने विचार छ ?
वर्षभरिमा के–के योजना हुन्छन भन्न गार्हो हुन्छ । मैले भनेजस्तै, नेपालीहरु मलाई आफ्नै दाजुभाई जस्तै लाग्छ । उनीहरुसँग मेरो सहकार्य निरन्तर चलिरहन्छ । नेपालीको र मलेसियाको परम्परागत खानपान, परम्परागत संस्कृति, भौगोलिक वातावरण, हावापानी आदि सबै समान छ । मेरो कम्पनीमा, म कामदारहरुलाई केवल एक कामदारको रूपमा मात्र देख्दिन, म उनीहरूलाई मेरो परिवारका सदस्यहरू जस्तै देख्छु । जब ती समस्या र दुःखमा हुन्छन, निश्चित रूपमा मेरो पनि आँसुहरू आउनेछ । वास्तवमै, म उनीहरूलाई धेरै प्रेम गर्दछु । अब व्यवसायको कुरा गरु । विभिन्न मौलिक चलचित्रहरु बनाउने सिलसिलामा अहिले मैले बनाउन लागिरहेको नयाँ चलचित्रमा मलाई नेपाली हिरोईनहरु चाहीएको छ । त्यसैले राम्रा नेपाली हिरोईन खोज्दै छु । म नेपालीहरुलाई बढी रुचाउने भएकोले नै मेरो हरेक व्यावसायमा बढी भन्दा बढी नेपालीहरुले अवसर पाउन भन्ने चाहन्छु । म चाहन्छु धेरै भन्दा धेरै नेपालीहरु यो देश आएर काम गरुन, राम्रो जीवनयापन गरुन । यहाँ पैसा कमाएर घरमा पैसा लगि परिवारसँग हाँसी खुशी रहुन् । म नेपालीहरूलाई सधैँ भन्दछु, तपाईंको परिवारको बारेमा सोच्नुहोस, काम गर्नुहोस, कमाउनुहोस र परिवारलाई पैसा पठाउनुहोस । उहाँहरुलाई म आफ्नो देशबारे चिन्तित देख्छु । म उहाँहरुहरूलाई भन्छु–आफ्ना दाजुभाइ, दिदीबहिनी, श्रीमती, आमा–बा र त्यसपछि आफ्नो देशको बारेमा सोच्नुहोस । मैले सकेसम्म नेपालीको लागि राम्रो गरिरहेको छु ।
चलचित्र निर्माण व्यवसायतर्फ किन लम्कदै हुनुहुन्छ ?
म व्यावसायमा थप विस्तारित हुँदै छु । हो मैले सुरक्षा व्यवसायको अलावा चलचित्र निर्माण व्यवसायको पनि थालनी गरेको छु । यो मेरो पहिल्यै देखिको सोच थियो । चलचित्र थालेपनि म सुरक्षा व्यवसायमा पनि उत्तिकै आवद्ध छु । दुबै व्यवसायलाइ सन्तुलित रुपमा अघि बढाउने मेरो चाहना हो । म मेरा कर्मचारीहरुमा विश्वास गर्दछु । म जहाँ रहे पनि उनिहरुले सबै काम ईमान्दारीताका साथ गरिरहेका हुन्छन । त्यसैले मैले चिन्ता लिनुपर्दैन । फिल्म इन्डष्ट्रिमा केही गर्ने मेरो पहिलेदेखि नै हृदयमा चाहना थियो । त्यसैले, म चलचित्र गर्दैछु । यो कुनै परिवर्तन हैन बरु व्यवसाय विस्तार हो ।
तपाईंलाई मलेसियाको फिल्म उद्योग कस्तो लागिरहेछ ?
यो धेरै विशाल र जुवाजस्तै व्यवसाय हो, धेरै ठुलो । लगानी फिर्ताको कुनै ग्यारेन्टी हुँदैन । तपाईले देख्नुभयो, यदि म एक सेक्युरिटी गार्ड ल्याउँछु भने, म भन्न सक्छु कि मैले निश्चितरुपमा कम्तीमा १०० देखि २०० रिंगेट कमाउने छु । अर्थात, म राम्रो कमाउन सक्छु । सुरक्षा व्यवसायमा एक निश्चित आम्दानी हुन्छ । तर दुःखको कुरा यो फिल्म व्यवसायमा त्यस्तो हुँदैन । चलचित्रमा पैसा लगानी गर्नुगर्यो तर फिर्ती प्राप्त सकिन्छ कि सकिदैन भन्ने दर्शकमा निर्भर गर्दछ । मलाई थाहा छैन यो चलचित्रमा पैसा कमाउन सकिन्छ कि सकिदैन । त्यसैले चलचित्रलाई सधै म एक उच्च जोखिमको लगानी हो भन्छु । तर मलाई विश्वास छ कि मैले चलचित्रमा पनि पैसा कमाउनेछु र सफल चलचित्र निर्मात्री बन्नेछु ।
फिल्म बनाउनु कत्तिको जोखिमयुक्त हुन्छ ?
मैले चारवटा फिल्महरू बनाइसकें । मेरो यो निकै छिटो भएको प्रगति हो । मैले जम्मा २०१७ देखि फिल्म बनाउन थालेको थिए । तर, मैले चारवटा फिल्म बनाइसके । अहिले, म अर्को फिल्म बनाउदै छु जुन म यस बर्षमा रिलीज गर्न जाँदैछु । यो फिल्म मैले नै निर्दे्िशत गर्दैछु । हेर्नुहोस, म निर्माता हुँ तर निर्देशन पनि मैले नै गर्दै छु नयाँ चलचित्रको । मेरो यो छलाङ एकदम छोटो र सुखद रहेको छ म खुशी छु । यो क्षेत्र एक जोखिमपूर्ण व्यवसाय हो । यो धेरै उच्च जोखिमको व्यवसाय हो । हुन सक्छ मैले अझै थप अध्ययन गर्नु पर्छ । तर मलाई लाग्छ सबै व्यवसाय उस्तै जोखिमयुक्त हुन्छ । हामीले राम्रोसँग अध्ययन गर्नु पर्छ र एक वा दुई वर्ष काम गरेपछि मात्र परिणाम थाहा पाइने छ ।
यहाँले नेपाल भ्रमण गर्नुभएको छ कि छैन ?
आईसके धेरैपटक मलाई नेपाल अत्यन्त मन पर्छ । मैले यस संसारका धेरै देशहरू, सँगसँगै तपाईहरुको देश नेपाल पनि भ्रमण गरिसकेको छु । मैले लगभग नेपालका धेरै शहरहरूमा भ्रमण गरेको छु । त्यसैले, म भन्छु म एक यात्री पनी हुँ मलाई नेपाल धेरै मन पर्छ ।
अन्तमा केही भन्न चाहनुहुन्छ ?
अन्तमा, मलाई मेरो व्यक्तिगत भनाई , मेरो व्यापार र सबै विषयमा बारेमा कुरा गर्ने मौका दिनुभएकोमा जनसवाल राष्ट्रिय दैनिक परिवारका साथै सम्पादक रामजी बगालेलाई बिशेष धन्यवाद दिन चाहन्छु म अझै धेरै कामहरु नेपालीहरुसँग सहकार्य गरेर गर्ने सोचाईमा छु । म मलेसियासँगै नेपालमै पनि केहि नयाँ योजनाहरु गर्दैछु । अवश्य पनि नेपाली दाजुभाई दिदीबहिनीहरुको सहयोग पाउने आशामा छु ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij