मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

‘ए’ डिभिजन लिग : पुलिसद्वारा फ्रेण्ड्स पराजित

बिहिबार, फाल्गुन १ २०७६

काठमाडौँ(जस)–विभागीय टोली नेपाल पुलिस क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत आफ्नो लिगको अन्तिम खेलमा सहज जित हात पारेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा पुलिसले फ्रेण्ड्स क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सहज जित हात पारेको हो । पुलिसको जितमा जुमानु राईले ह्याट्रिक गरे । पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा पुलिसले तीनै गोल दोस्रो हाफमा ग¥यो । हेमन्त श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका जुमानुले खेलको ४९औँ मिनेटमा गोल गर्दै पुलिसलाई पहिलो अग्रता दिलाए ।
त्यसपछि खेलको ५६औँ मिनेटमा जुमानुले व्यक्तिगत दोस्रो गोल गरे भने खेलको ८५औँ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै उनले ह्याट्रिक पूरा गरे । जितसँगै पुलिसले लिगमा सुखद अन्त्य गरेको छ । पुलिस १३ खेलमा २० अङ्क जोड्दै अङ्कतालिकाको पाँचौं स्थानमा रहेको छ । पराजित फ्रेण्ड्स भने १३ खेलमा १४ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

एपीएफ र ब्रिगेडको बराबरी
विभागीय टोली एपीएफ क्लब र ब्रिगेड ब्वाईज क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् । एन्फा कम्प्लेक्स मैदानमा बिहिबार भएको लिगको आफ्नो अन्तिम खेलमा एपीएफ र ब्रिगेडले १–१ गोलको बराबरी खेले । एपीएफका लागि आशिष लामाले सुरुवाती गोल गरेका थिए । आशिषले ४४औं मिनेटमा नविन लामाको पासमा हेडमार्फत गोल गरेका थिए । आशिष लिगमा सर्वा्धिक गोल गर्न खेलाडीको समेत शीर्ष स्थानमा छन् । आशिषले नौ गोल गरेका छन् ।

खेलको अन्तिममा सम्हालिन नसक्दा एपीएफले अंक बाँडेको हो । दोस्रो हाफको इन्जुरी समयमा ब्रिगेडका विजय गुरुङले गोल गर्दै खेललाई बराबरीमा सकेका थिए । सुरुवाती खेलमा कमजोर प्रदर्शन गरेको एपीएफ र ब्रिगेड दुई खेल अघिसम्म रेलिगेसनको चपेटामा देखिएका थिए । दुई खेलअघि दुवै टोलीले रेलिगेसन जोगाएका थिए । एपीएफका नविन लामा म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै १३ खेबाट ९ अंक बनाएको एपीएफ १२ औं स्थानमा रह्यो । समान नौ अंक बनाएको ब्रिगेडले १३औं स्थानमा रहँदै लिगको अन्त्य गर्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार