काठमाडौँ(जस)–नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेट खेलाडीको बर्गीकरण गरेर सेवा सुविधा प्रदान गर्ने भएको छ । सामेबार बसेको क्यान कार्यसमिति बैठकले खेलाडीबारे यस्तो निर्णय गरेको हो । बैठकले सिनियर राष्ट्रिय टोलीका पुरुषतर्फ २४ खेलाडीलाई ‘ए प्लस’, ‘ए’, ‘बी’ र ‘सी’ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय टोलीमा रहेका खेलाडीलाई चार समूहमा वर्गीकरण गरी ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा राख्ने तयारी क्यानको छ ।
महिलातर्फ १८ खेलाडीलाई ‘ए’, ‘बी’ र ‘सी’ गरी तीन समूहमा वर्गीकरण गरिने छ । क्यानले खेलाडीको विषयमा प्रस्तावना तयार गर्न कोषाध्यक्ष रोशनकुमार सिंहको संयोजकत्वमा केन्द्रीय सदस्य अमितवीर पाण्डे र दुर्गाराज पाठक रहेको समिति गठन पनि गरेको छ । क्यान बैठकले सन् २०२० जनवरी देखिनै लागु हुनेगरी राष्ट्रिय पुरुष टोलीले एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा खेडालीलाई प्रत्येक खेलको पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय पनि गरेको छ । क्यानले आगामी चैतमा सिनियर पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना गर्ने निर्णय पनि गरेको छ ।