मंगलबार, माघ २८ २०७६
काठमाडौँ(जस)–सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाज चीन पठाउने तयारी गरेको छ । चीनमा कोरोनाको सम्भावित जोखिमबाट बच्नका लागि स्वदेश फर्कने नेपालीलाई जहाजमार्फत ल्याउने सम्बन्धमा आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र निगमका पदाधिकारीबीच छलफल भएको थियो । निगमले अबको एक÷दुई दिनभित्रै आफ्नो वाइड बडी जहाज चीन पठाउने तयारीमा रहेको जनाएको छ ।
चीनमा रहेका नेपालीको उद्धारका लागि जहाज पठाउने आन्तरिक तयारी गरिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन । “हामी (निगम) आन्तरिक तयारीमै छौँ, सरकारले निर्णय गर्नासाथ वाइड बडी जहाज चीन पठाउने गरी आवश्यक प्रक्रिया मिलाएका छौँ”, उनले भनिन ।
मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच भएको छलफलमा मन्त्रालयले वाइड बडी जहाज लैजानका लागि निगमलाई आग्रह गरेको छ । निगमले पनि नियमित ‘विजिनेस’मा असर नपर्ने गरी वाइड बडी जहाज पठाउने वचन दिइसकेको छ । निगमको वाणिज्य विभागका अनुसार वाइड बडी जहाज पठाउँदा नियमित व्यवसायमा केही असर पर्नेछ । त्यसैले जहाज पठाउनुपूर्व यात्रु तथा एयरलाइन्सलाई पूर्वसूचना गर्नुपर्ने हुन्छ । वाइड बडी जहाज पठाउँदा करीब दुई दिनको उडान व्यवस्थापन गर्नुपर्ने भएकाले सोको व्यवस्थापकीय काम थालिएको विभागले जनाएको छ ।
कोरोना प्रभावित नेपालीलाई लिनका लागि निगमको जहाज लैजाने तयारीकोे जिज्ञासामा पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले निगमको वाइड बडी जहाज लैजाने विषयमा छलफल भएको तर यस विषयलाई मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि मात्रै अधिकारिक हुने बताए । उनले भने, “चीनमा रहेका नेपालीको उद्धारका लागि निगमको जहाज पठाउने विषयमा छलफल भएको छ, हाम्रोतर्फबाट तयारी भएकै छ, शहरी विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयले पनि आफ्नो तयारी गरिरहेकै छ, अब यो विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने हुन्छ, त्यसपछि सबै काम सहज, सुलभ र व्यवस्थित ढङ्गले अघि बढ्छ ।”
यसअघि नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपालको निजी क्षेत्र र चीन सरकारको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सको जहाजलाई पनि नेपालीको उद्धारका लागि चीन पठाउने बताइएको थियो तर, चीनबाट नेपाली ल्याउनका लागि हिमालयको जहाज प्रयोग गर्नेबारे औपचारिक छलफल नभएको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले बताइन । यद्यपि, हिमालय एयरलाइन्सका अध्यक्ष सोमबार काठमाडौँ आएकाले तद विषयमा छलफल हुने उनले बताइन । हिमालयले चीनमा उडान गर्ने सबै गन्तव्यका उडान स्थगित गरिसकेको छ । पछिल्लो पटक गत गत माघ २४ गते बेइजिङको पूर्वनिर्धारित अन्तिम उडान गरेको थियो । यात्रुको अवस्था र व्यावसायिक बजारलाई मध्यनजर गरी ‘सेडुअल उडान’ गर्न सकिने कम्पनीले जनाएको छ ।
पर्यटनमन्त्री योगेशकुमार भट्टराईले चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावका सम्बन्धमा हालै पर्यटन क्षेत्रसँग सरोकार भएका निकायसँगको छलफलका क्रममा चीनमा रहेका नेपाली ल्याउन निगम र हिमालय एयरलाइन्सको जहाज तयारी अवस्थामा रहेको बताएका थिए । चीनको हुवेइ प्रान्तको वुहान प्रान्तबाट १८० नेपालीले स्वदेश र्फकन लागि त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । नेपालको मित्रराष्ट्र चीनको वुहान प्रान्तबाट सन् २०१९ डिसेम्बर ३१ मा पहिलोपटक फैलिएको कोरोना भाइरस अहिले चीनको २२ प्रान्तमा फैलिसकेको छ भने विश्वका २३ मुलुकमा फैलिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वमा अहिले १७ हजार ३५१ मा सो भाइरस देखिएको छ । त्यसमध्ये १७ हजार भाइरस चीनकै नागरिकमा देखिएको छ । सो भाइरसका कारण चीनमा ८०० भन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो तथ्याङ्कअनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण चीनमा ३० हजारभन्दा बढी व्यक्तिले उपचार गराइरहेका छन् । चिनियाँ मुख्य भूमि बाहिर विभिन्न ३० स्थानमा करीब २४० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण भएको बताइएको छ । अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ ।
प्रतिनिधिसभाको हालैको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सांसदले उठाएको प्रश्नको जिज्ञासामा सरकारले चीनबाट नेपाल आउन चाहने नेपालीलाई ल्याउने तयारी गरेको बताएका थिए । उनले कोरोना भाइरसको सङ्क्रमण देखिएकाबाहेक आउन चाहने नेपालीलाई सरकारले विलम्ब नगरी ल्याउने तयारी गरेको बताएका थिए । चीनबाट ल्याइएका नेपालीलाई यहाँ १४ दिनसम्म परीक्षणमा राखिनेछ । कोरोना भाइरस नदेखिएपछि सार्वजनिक भेटघाटका लागि जान दिइनेछ । सरकारले उक्त भाइरस सङ्क्रमणका लागि तीन अस्पतालमा ४३ श्ययाको व्यवस्था गरेको छ । पोखरा, चितवन र भैरहवामा ‘हेल्थ डेक्स’को व्यवस्था गरेको छ । रसुवा र तातोपानी नाकालाई सम्भावित जोखिममा राखेर काम भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपाली छन् । उनीहरूले आफूहरूको छिटो उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् । अभिभावकले समेत आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन सरकारसँग माग गर्दै आएका छन् ।
चीनबाट फर्कनेलाई नगरकोटमा पनि राखिने
भक्तपुर(जस)–चीनबाट उद्धार गरी नेपाल ल्याउन लागिएका नेपालीलाई राख्न क्वारेन्टाइन निर्माणको काम भइरहेको भक्तपुरको खटिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा सञ्चारकर्मीलाई प्रवेश निषेध गरिएको छ । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएपछि त्यहाँ रहेका नेपालीलाई सरकारले स्वदेश फर्काएर खरिपाटीस्थित प्राधिकरणमा राख्ने तयारी गरेपछि त्यसको समाचार सङ्कलनका लागि खरिपाटी पुगेका सञ्चारकर्मीलाई आइतबारकोदेखि मूलगेटबाटै प्रवेशमा रोक लगाइएको हो ।
समाचार सङ्कलनका लागि खरिपाटीस्थित प्राधिकरण पुगेका सञ्चारकर्मीलाई गेटमा बसेका प्रहरीले स्थानीय बासिन्दा र सञ्चारकर्मीलाई प्रवेश नदिनू भन्ने माथिको आदेश आएको भन्दै प्रवेशमा रोक लगाएपछि सञ्चारकर्मीले आन्तरिक तयारीको तस्बिर र भिडियो सङ्कलन नगरी फर्किएका छन् । सरकारले बाक्लो बस्ती भएको खरिपाटीमा चीनबाट फर्काउने नेपाली राख्ने तयारी गरेपछि स्थानीय बासिन्दा, चाँगुनारायण नगरपालिका र यहाँका राजनीतिक दलले त्यसको विरोध गर्दै विकल्प खोज्न माग गर्दै आएका छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले चीनबाट फर्काइने नेपाली राख्ने ठाउँमा धमाधम काम भइरहेको र पत्रकार आउँदा काममा बाधा हुने भएकाले रोक लगाइएको बताए । उनले माथिको आदेश पनि त्यस्तै रहेको र काममा पनि बाधा पुग्ने भएकाले सञ्चारकर्मी र स्थानीय बासिन्दालाई प्रवेशमा रोक लगाइएको बताउँदै तयारी तीव्र गतिमा भइरहेको जानकारी दिए ।
चीनबाट ल्याउन लागेका नेपालीका लागि तयार पारिएको ठाउँ कस्तो छ, कसरी व्यवस्थापन गरिँदैछ भन्नेबारेमा आमनागरिकको चासोलाई सञ्चारकर्मीले ल्याउन खोज्दा रोक लगाइएको भन्दै सञ्चारकर्मीले आक्रोश पोखेका छन् । यसबारेमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आफू कर्मचारी समायोजनमा लागेको र त्यसमै व्यस्त भएकाले कस्तो तयारी भइरहेको छ भन्नेबारेमा आफूले केही थाहा नपाएको र चासो नलिएको बताए ।
क्वारेन्टाइन स्थापना गर्न भने भौतिक संरचनाको व्यवस्था शहरी विकास मन्त्रालयले जिम्मेवारी लिएर तयारी गरिरहेको बताइएको छ । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई यहाँ राख्ने र बाँकीलाई नगरकोटस्थित खानेपानीको तालिम केन्द्रमा राख्ने तयारी गरी व्यवस्थापन गरिएको बताइएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले सरकारले नगरपालिकालाई कुनै जानकारी नगराएको बताउँदै नगर परिषद्को बैठकबाटै यस ठाउँको विकल्प खोज्नलाई सरकारसँग आग्रह गरेको बताए । उनले समाचार सङ्कलन गर्न आउने सञ्चारकर्मीलाई रोक्नु पनि गलत भएको बताए ।वाग्मती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले सरकारले बस्तीका बीचमा चीनबाट फर्काउने नेपाली राख्न खोज्नु नै गलत भएको बताउँदै यसबारे सरकारले गम्भीर नभए यसबारे उत्पन्न हुने अवस्थाको जिम्मेवार पनि सरकार हुने बताए ।
थप दुई भवन खाली गराइयो ः
सरकारले चीनको वुहानबाट नेपाल फर्काउन लागेको नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको थप दुई वटा भवन खाली गराएको छ । तीन दिनअघि प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेल भवन खाली गराएकामा त्यो अपुग रहेको भन्दै आइतबारको क्यान्टिन नजिकै रहेको रातो भवन र प्राधिकरणका निर्देशक क्वार्टरसमेत खाली गराएको नेपाल विद्युत् प्राधिकरण खरिपाटीका सहनिर्देशक केशवराज ओलीले जानकारी दिए । होस्टेलको तल्लो भवनको सम्पूर्ण सामान प्राधिकरणको माथिल्लो प्रशासनिक भवनमा सारिए पनि आइतबारको शय्यासमेत अपुग रहेको भन्दै प्राधिकरणको होस्टेलको माथि सारिएको शय्या, पर्दा, फर्निचरलगायतका सामान लगेको उनले जानकारी दिए । चीनबाट फर्काइएकामध्ये १२४ जनालाई खरिपाटीस्थित प्राधिकरणमा र बाँकीलाई चाँगुनारायण नगरपालिका–६ स्थित खानेपानी तालिम केन्द्र पिपलबोटमा राख्ने तयारी भइरहेको बताइएको छ ।
पर्यटकीय क्षेत्रमा चीनबाट फर्काइएका नेपालीलाई राख्न लागेको भन्दै आइतबारको स्थानीय बासिन्दाले विरोध गरेका छन् । वडा नं ६ का वडाध्यक्ष सन्ते वाइबासहित स्थानीय बासिन्दाले चाँगुनारायण नगरपालिका, जिल्ला प्रशासन कार्यालय भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरमा ज्ञापनपत्र बुझाउँदै अन्यत्र राख्न माग गरेको नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले जानकारी दिए ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij