वासिङ्टन(रासस)। संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राति ‘स्टेट्स अफ युनियन’लाई सम्बोधन गर्दै अमेरिकी प्रशासनले ‘अफगान युद्ध’ अन्त्य गर्न काम गरिरहेको बताउनुभएको छ । हाउस अफ रिप्रिजेन्टटिभ्स् र कङ्ग्रेसको संयुक्त सत्रमा बोल्नु हँुदै ट्रम्पले अफगानिस्तानमा अमेरिकी सेनाले प्रगति गरिरहेको र तालिबान लडाकू समूहसँग शान्ति वार्ता भइरहेको बताउनुभएको छ ।
‘हामी अन्ततःअमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गरी हाम्रो सेनालाई घर फर्काउन कोशिस गर्दैछौं,” ट्रम्पले भन्नुभएको छ । “कानुनको डण्डा लगाउने एजेन्सीका रूपमा अन्य राष्ट्रको सेवा गर्नु हाम्रो कार्य पनि होइन ।” संयुक्तराज्य अमेरिका र तालिबानबीच शान्ति वार्ता गत वर्ष शुरु भएको थियो तर सेप्टेम्बर र डिसेम्बरमा अमेरिकी सेनाको तालिम केन्द्रमा भएको तालिवानी लडाकूको आक्रमणपछि वार्ता रोकिएको थियो ।
लामो समय अर्थात् सन् २००१ बाट शुरू भएको अफगान युद्धको कारण अमेरिकी सेनालाई पर्दै आएको अफ्ठ्यारो ‘हास्यास्पद’ भएको उहाँले बताउनुभएको छ । अझै पनि अफगानिस्तानमा करिब १३ हजार अमेरिकी सेना रहेका छन् । यी सेनाले प्रायःअफगानी सेनालाई तालिवानी लडाकू विरुद्ध तालिमलगायत सरसल्लाह दिने कार्य गर्दै आएका छन् । अफगान युद्ध अमेरिकी इतिहासको सबैभन्दा लामो युद्ध हो । सन् २००१ मा अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिति भएयता अमेरिकी सेनाका २४ सय सदस्य मारिएका छन् ।