काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगा अन्तर्गत म्याड्रिड डर्बीमा रियल म्याड्रिडले एटलेटिकोलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा रियल म्याड्रिडले एटलेटिकोलाई १–० गोल अन्तरले पराजित गरेको हो । रियलको जितमा क्रिम बेन्जमाले खेलको ५६औ मिनेटमा गोल गरेका थिए । बेन्जामाले रियलको घरेलु मैदानमा एटलेटिकोविरुद्ध गरेको यो पहिलो गोल हो । १६ खेलमा ३४ प्रहार पछि बेन्जमाले एटलेटिकोविरुद्ध गोल गरेका हुन् ।
इडेन हजार्ड र ग्यारेथ बेल बिना खेलेको रियल म्याड्रिडले यो जितपछि दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले अगाडी रहेको छ । रियलको यो जितले बार्सिलोनामाथि दबाब बढेको छ । बार्सिलोनाले ला लिगामा पछिल्लो खेल भलेन्सियाविरुद्ध हार बेहोरेपछि शिर्ष स्थान गुमाएको छ । अब बार्सिलोनाले आइतबार राति लेभान्टेविरुद्ध आफ्नै घरेलु मैदानमा खेल्दै छ । त्यस्तै एटलेटिको म्याड्रिड भने लागातार खराब प्रदर्शन गर्दै अब लिगको पाँचौ स्थानमा पुगेको छ । एटलेटिकोको २२ खेलमा ३६ अंक रहेको छ ।