कतार (जस)–कतारमा रहेका व्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ कतारले कतारमा श्रम स्वीकृतिका लागि सहजीकरण गरिदिन कतारस्थित नेपाली राजदूत नारदनाथ भारद्धाजलाई आग्रह गरेको छ । राजदूतलाई संस्थाका अध्यक्ष महेन्द्रप्रसाद चौलागाईले बुझाएको पत्रमा नेपालबाट वैदेशिक रोजगारीको सिलसिलामा कतार आउँदा विभिन्न पेशामा रोजगारी गर्न कामदारको रुपमा कतार आएका र यहाँ रहदै बस्दै गर्दा आफ्नै व्यवसाय शुरुवात गरि धेरै नेपालीहरु व्यवसायीमा रुपान्तरण भएको व्यहोरा जानकारी गराएको छ ।
‘हाल नेपाल सरकार श्रम तथा रोजगार विभागले श्रम स्वीकृतिमा कडाई गर्दै लाइसेन्स देखाउनु पर्ने, पहिलाको पद, नाम र हालको पद, नाममा फरक पर्ने भएमा इम्प्लोइमेन्टको करार देखाउनु पर्ने, श्रम कार्यालयमा स्वयं उपस्थित हुनु पर्नेलगायतका झञ्झटिलो प्रक्रिया लागु गरेको छ । सीमित समयमा धेरै व्यवसायिक कार्यहरु गरेर पटक–पटक यात्रा गरिरहनुपर्ने व्यवसायीहरु ति झञ्झटिला तर बाध्यात्मक प्रक्रियाको कारण श्रम स्वीकृति लिन कठिनाई भोगिरहेका छौं’, पत्रमा उल्लेख छ । यसरी श्रम स्वीकृतिका कारण समस्या आएको बताउँदैं ती संस्थाहरुले नेपालबाट पहिलो पटक वैदेशिक रोजगारमा आउँदा जे सुकै पद नाममा आएका भएता पनि हाल व्यवसाय गरिरहेका व्यवसायीहरुको उपयुक्त वर्गिकरण गरी वा कुनै विधि अपनाई लाई उक्त झञ्झटिलो प्रकृया अन्त्य गरेर सहज प्रक्रियाद्धारा श्रम स्वीकृति दिने व्यवस्था गरी दिन राजदूत समक्ष आग्रह गरेका छन् ।

‘व्यवसायी पहिचाहानको मुख्य आधार कतारको कम्पनी रजिष्टार प्रमाणपत्र मा नाम उल्लेख हुनु हो तसर्थ त्यसैलाई आधार मानेर वा कुनै परिचयपत्र जारी गरेर अथवा व्यवसायीहरुको आधिकारिक सूची तयार गरेर कार्यान्वयन गर्न सकिने र त्यसको लागि नेपाली व्यवसायी संघ कतार आवश्यक समन्वय र सहजिकरण गर्न सदैव तत्पर रहेको व्यहोरा समेत अनुरोध गर्दछौं’, संस्थाले उल्लेख गरेको छ ।

कामदारको रुपमा विदेश आए संघर्ष गरेर व्यवसायिक हैसियत बनाउदै आर्थिक रुपमा मात्र नभएर हरेक क्षेत्रबाट राष्ट्रको गरिमालाई उच्च बनाउन प्रयासरत व्यवसायीहरुको कठिनाईलाई मनन गर्दै सहजताको लागि आवश्यक पहल हुनेछ भन्नेमा पुर्ण विश्वास लिएको अध्यक्ष चौलागाईले उल्लेख गरेका छन् । संघले पत्रको बोधार्थ श्रम तथा रोजगार मन्त्रालय, प्रधानमन्त्रीको कार्यलय र गैरआवासीय नेपाली संघ, अन्र्तराष्ट्रिय समन्वय परिषद्मा पनि पठाएको जानकारी दिएको छ ।
