काठमाडौं(जस)–सुनसरीको इनरुवामा जारी एमएम कप अन्तर्गत नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । बिहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ९९ रनले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो । पुलिस क्लबले दिएको २३० रनको लक्ष्य पछाएको सुदूरपश्चि ३३.४ ओभरमा अल आउट हुदै १३० रन बनाएको थियो । सुदूरपश्चिमको लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन बनाए भने आकास चन्दले २३, खडक बोहोराले १४ र गजेन्द्र बोहोराले १२ रन बनाएका थिए ।
त्यस्तै पुलिसका बलर सागर ढकालले ५ विकेट लिए । त्यस्तै ललित राजबंशीले ३ विकेट लिएका थिए भने ललित भण्डारी र योगेन्द सिंह कार्कीले एक एक विकेट लिए । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको पुलिस क्लबले ४९ ओभरमा अल आउट हुदै २२९ रन बनाएको थियो । पुलिसका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६८ रन बनाए भने ललित भण्डारीले ४० रन बनाएका थिए ।
त्यस्तै अनिल कुमार शाहले ३१ र योगेन्द्र सिंह कार्कीले २९, कुशल भुर्तेलले १७ रन बनाएका थिए । सुदूरपश्चिमका बलर शेर मल्ल, बिनोद लामा र आकास चन्दले ३–३ विकेट लिएका थिए । योसँगै नेपाल पुलिस क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ । अब फाइनलमा दुवै विभागीय टिमबीच प्रतिष्पर्धा हुने भएको छ । बुधबार नेपाल आर्मीले प्रदेश ३ लाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । अब फाइनल खेल शनिबार पुलिस क्लब र नेपाल आर्मी बीच हुने छ ।