सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

मलाई १७ हजार मानिस मारेको झूटो आरोप लगाइयो : अध्यक्ष दाहाल, रेशम चौधरी छुट्छन्

बिहिबार, माघ २ २०७६

काठमाडौँ(जस)– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई १७ हजार मानिस मारेको भनेर लगाइएको झुटो आरोप लगाइएको बताएका छन् । बुधबार काठमाडौँको टुँडिखेलमा माघी महोत्सवलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले आफूमाथि बारम्बार लाग्दै आएको आरोपमा कुनै सत्यता नरहेको समेत बताए । ‘ममाथि गलत तथ्यांक बारम्बार दोहोर्याइने गरिएको छ १७ हजार मानिस मारेको भनेर, तर यो सत्य होइन’ प्रचण्डको भनाइ छ । उनले सत्य कुरा हिजोको सामन्ती राज्यसत्ताले १२ हजार मान्छे मारेका भन्दै द्वन्द्वका क्रममा ५ हजार मानिस मरेकोमा भने आफू जिम्मा लिन तयार रहेको बताए ।
‘राज्यले मारेका मानिसहरुको पनि मेरै टाउकोमाथि हाल्न हुँदैन । नगरेको कामको पनि दोष मलाई दिइएको छ । यो सत्य होइन । त्यस्तै उनले रेशम चौधरीलाई सबभन्दा पहिला आफूले प्रधानमन्त्री हुँदा दिल्लीमा भेटेको स्मरण गरे ।
अध्यक्ष प्रचण्डले रेशम चौधरी छिट्टै छुट्ने दावी गरेका छन् । उनले सम्बोधनका क्रममा झूटा मुद्दा लगाएकाहरुलाई छुटाउन आफ्नो प्रयास जारी रहेको भन्दै रेशम चौधरीलाई छुटाएरै छाड्ने बताए । उनले डिल्लीबजारस्थित सदर खोरमा पुगेर आफूले रेशम चौधरीलाई भेटेको समेत खुलासा गरे । छोटो सम्बोधन गरेका प्रचण्डले टीकापुर घटना, रेशम चौधरी वा थारु समूदायका समस्याबारे आफू जानकार रहेको भन्दै अझैपनि त्यसका लागि सहयोग जारी रहने बताए । उनले सवै समूदायको मुक्तिको आन्दोलन जारी रहेको बताउँदै भने, ‘आवेगमा होइन, उत्तेजनामा होइन सवै जनसमुदायको मुक्तिको आन्दोलन अझै जारी छ ।’ समस्याहरु समाधान गर्न अझैपनि संवाद र शान्तिपूर्ण आन्दोलनको बाटोबाट अघि बढ्न जरुरी रहेको प्रचण्डले बताए । ‘प्रचण्ड’ ले सबै जाति र समुदायका संस्कृति तथा पर्वले राष्ट्रिय संस्कृतिलाई सम्पन्न बनाएको बताएका छन् । विविधताभित्रको एकताले राष्ट्रियतालाई बलियो बनाउने बताउँदै मकर सङ्क्रान्तिलाई सबैले विभिन्न रुपबाट स्वीकारेको भए पनि थारु जातिले अभिभावक चुन्ने, वर्षदिनभरका लागि कार्ययोजना अनुमोदन गर्ने विशिष्ट परम्परा रहेको उनले चर्चा गरे ।
थारु जातिको मौलिक संस्कृतिले गर्दा उनीहरुलाई अलग्गै पहिचान दिन विगतमा आफूले सक्दो प्रयास गरेको स्मरण गर्दै उनले संविधान जारी हुन अगाडि थारुलाई मधेशीमा राख्ने गरेको बताए । अध्यक्ष दाहालले संविधान परिवर्तनशील र सम्झौताको दस्तावेज भएका कारण जनताको अधिकार प्राप्तिका लागि पार्टीले सङ्घर्ष जारी राख्ने विश्वास व्यक्त गरे । अध्यक्ष दाहालले आदिम युगदेखि समाजवादसम्मका परिवर्तन एकैपटक नभएको बताउँदै प्राप्त भएका उपलब्धिलाई प्रयोग गरी नयाँ अधिकार प्राप्त गर्न अघि बढनुपर्ने बताए । लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्ने क्रममा थारु समुदायको त्याग र सहयोग उल्लेखनीय रहेको बताउँदै अध्यक्ष दाहालले राजनीतिक आस्थाका आधारमा बन्दी भएका सबैलाई छुटाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार