एनआरटीसँग हार्यो पुलिस, एपीएफ र च्यासल गोलरहित बराबरीमा रोकिए
काठमाडौं(जस)–सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली नेपाल पुलिस क्लब एनआरटी क्लबसँग पराजित भएको छ । दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटीले पुलिसललाई १–० गोलले हरायो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पुलिसले पहिलो हाफमा राम्रा गोल गर्ने अवसर गुमायो । दोस्रो हाफमा सुधारिएको खेल खेलेको एनआरटीले ७६ औं मिनेटमा निर्णायक गोल गरेको थियो । एनआरटीका लागि दर्शन गुरुङले गोल गरे ।
दर्शनले राजेश परियारको पासमा उत्कृष्ट गोल गरेका थिए । एनआरटीका मिडफिल्डर एरिक बिष्ट म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै एनआरटी अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । एनआरटीले ६ खेलमा ८ अंक बनाएको छ । समान ८ अंक बनाएको पुलिस सातौं स्थानमा छ । एनआरटी गतबर्षको लिगमा अन्तिममा रहेका कारण दुई अंक घटाईएको छ ।
एपीएफ र च्यासल गोलरहित बराबरीमा रोकिए
शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत एपीएफ र च्यासल युथ क्लब बराबरीमा रोकिएका छन् । काठमाडौँस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा दुवै टिम गोल रहित बराबरीमा रोकिएर एक एक अंक बाडेका हुन् । खेलमा एपिएफका राजन गुरुङ प्लेयर अफ द म्याच बनेका छन् । यो खेलपछि च्यासलको ६ खेलमा ६ अंक भएको छ भने एपीएफको ६ खेलमा ५ अंक रहेको छ ।