काठमाडौँ(जस)– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ । नेकपा भित्र सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा उपसभामुख शिवमाया तुम्बाहाङफेसहितको आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीचको छलफल बिना निष्कर्ष सकिएको थियो । यससँगै प्रतिनिधिसभाको आइतबारको बैठक पनि सूचना टाँसेर स्थगन भएको छ । बैठकको अध्यक्षता गर्ने उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले आइतबार विशेष कारणवश बैठक स्थगन गरी अर्काे बैठक आगामी माघ ६ गते अपराह्न १ बजेका लागि तोकेको सङ्घीय संसद्का प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।
यही पुस ४ गतेदेखि शुरु भएको सङ्घीय संसद्को पाँचौँ अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठक रिक्त सभामुखको निर्वाचन कार्यतालिका र उम्मेदवार चयनमा राजनीतिक सहमति नहुँदा यसअघि पनि यही पुस ११ र १६ गते स्थगन भएको थियो । संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोप लागेपछि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निर्णयका आधारमा तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिनुभएको थियो । हाल उन पुर्पक्षका लागि थुनामा छन् ।
सत्तारूढ नेकपाभित्र सभामुख कसलाई बनाउने भन्ने विषयमा छलफल जारी रहेकाले प्रतिनिधिसभाको बैठक प्रभावित हुँदै आएको छ । सभामुख र उपसभामुख फरक फरक दलबाट चयन हुनुपर्ने संवैधानिक व्यवस्था भएकाले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिई दुवै पदको नयाँ निर्वाचनको प्रक्रियाका लागि मार्गप्रशस्त गर्न नेकपा नेतृत्वले आग्रह गरिसकेको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उपसभामुख तुम्बाहाङ्फेले पराामर्श पनि गर्दै आएकी छन् । उपसभामुख तुम्बाहाङ्फेले रिक्त सभामुखमा आफूलाई उम्मेदवार बनाउन माग गर्दै आएकी छन् । आइतबारको बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई बैठक स्थगित गर्न सुझाव दिइएको बताइएको छ ।
दलगत अनिर्णयको बन्दी बनाइयो ः काँग्रेस
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधि सभालाई दलगत अनिर्णयको बन्दी बनाइएकोमा आपत्ति जनाएको छ । काँग्रेसले आज प्रतिनिसभाको बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित भएपछि एक विज्ञप्ति प्रकाशित गर्दै आपत्ति जनाएको हो । काँग्रेसले भनेको छ – ‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको बिषय दुखद छ, नेपाली कांग्रेसले यसलाई सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।’
संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्व हुन्छ । तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छायां बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।
स्वयं सत्तापक्षका कारण महीना दिन देखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापुर्वक लिंदै नेपाली कांग्रेस दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सरकार र सत्तारूढ नेकपालाई सचेत गराउंदछ ।’
नेकपाले सभामुखको टुंगो नलगाउँदा यसअधि प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आइतबार दिउँसो १ बजे बोलाइएको बैठक पनि माघ ६ गते बस्नेगरी सूचना टाँसेर स्थगित गरिएको छ । पुस ४ गतेदेखि शुरु भएको संसदको हिउँदे अधिवेशन सभामुख चयनकै विषयमा सहमति हुन नसक्दा प्रतिनिधि सभाको बैठक यस अघि पुस ११ गतेका लागि बोलाइएको बैठक सूचना टाँसेर १६ गतेसम्मका लागि स्थगित गरिएको थियो भने पुस १६ गते बस्ने भनिएको बैठक पुस २७ सम्मका लागि स्थगित गरिएको थियो ।