धनुषा । धनुषाको औरही खोलामा अवैध उत्खनन रोक्न गएका दिलीप महतोलाई ‘लिभर’ प्रहार गरी घाइते बनाएर टिपरले किचेर हत्या गरिएको खुलेको छ ।
शनिबार अबेर साँझ जिल्ला प्रहरी कार्यालय धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक रमेश बस्नेतले दिलीपको दाहिने कोखमा ‘लिभर’ले घोची घाइते बनाएपछि टिपरले किचेको बताए ।
बालुवा गिटी चोरी रोक्न खोलामा गएका महतोलाई शुक्रबार बिहान चार जनाले समातेर कोखमा ‘लिभर’ प्रहार गरी घाइते बनाएर ना ७ प ६४१३ नम्बरको टिपरले किचेर हत्या गरेको प्रहरी उपरीक्षक बस्नेतले बताए। प्रहरीले हत्या आरोपमा पक्राउ परेका ४ जनालाई सार्वजनिक गरेको छ ।
हत्याको मुख्य योजनाकार क्रसर सञ्चालक मिथिला नगरपालिका–५ का २७ वर्षीय विपिन महतो, टिपर चालक महोतरी बर्दिबास–९ का ३४ वर्षीय मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक बर्दिबास नगरपालिका–२ का २४ वर्षीय जितेन्द्र महतो र मिथिला नगरपालिका–५ का २७ वर्षीय रोशन कुमार यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक बस्नेतले बताए ।