हेटौंडा / प्रदेश ३ को नाम बाग्मती र राजधानी मकवानपुरको हेटौंडा राख्न सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका सांसदहरुले संयुक्त प्रस्ताव दर्ता गरेका छन् ।
आज प्रदेश सभा सचिवालयमा नेकपा, कांग्रेसलगायत प्रतिपक्षी दल मिलेर प्रदेश सभामा नाम र राजधानीबारे संयुक्त प्रस्ताव दर्ता गरेका हुन् ।
मुख्यमन्त्री एवम् नेकपा नेता डोरमणि पौडेल प्रस्तावक र कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, राप्रपाकी रीता माझी र राप्रपा (संयुक्त) की रीना गुरुङले समर्थन गरेका छन् ।
यसैगरी, विवेकशील दलले नाम बाग्मतीमा सहमत भए पनि राजधानी काभ्रेको धुलिखेललाई बनाउनुपर्ने प्रस्ताव आजै दर्ता गराएको छ ।
प्रस्तावको प्रस्तावकमा सांसद रमेश पौडेल छन् भने समर्थकमा बिराजभक्त श्रेष्ठ र शोभा शाक्य छन् । प्रदेश ३ मा विवेकशीलका तीन सांसद छन् ।
नेमकिपा भने यसमा मौन छ ।
प्रदेशको नाम र राजधानीबारे आज दिउँसो एक बजेदेखि छलफल हुँदैछ । आइतबार बस्ने प्रदेशसभा बैठकले प्रदेशको नाम र राजधानी पारित गर्नेछ । प्रदेशसभामा ११० जना सदस्य छन् ।