काठमाडौँ । स्पेनिस सुपर कपबाट बार्सिलोना बाहिरिएको छ । गएराती भएको सेमिफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई पराजित गर्दै फाइनलमा पुगेको छ ।
एटलेटिकोले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो । एटलेटिकोको जितमा कोके, अल्भारो मोराटा र एंगल कोरेयाले एक एक गोल गरेका थिए ।
त्यस्तै बार्सिलोनाका लागि लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए ।
बार्सिलोनाका दुई गोल रेफ्रीले भारको मद्धतले अस्वीकार गरेका थिए । पहिलो हाफमा उत्कृष्ट खेलेको बार्सिलोना दोस्रो हाफको अन्तिम समयमा सम्हालिन नसक्दा पराजित हुन पुगेको थियो ।
एटलेटिकोका लागि पहिलो गोल खेलको ४६औ मिनेटमा सब्सटिच्युटको रुपमा आएका कोकेले गरेका थिए भने खेलको ५१औ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाका लागि बराबरी गोल गरेका थिए । त्यस्तै खेलको ६२औ मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनाका लागि २-१ को अग्रता दिलाएका थिए ।
त्यसपछि एटलेटिकोले खेलको ८१औ मिनेटमा पेनाल्टी पाएको थियो । बार्सिलोनाका नेटोले भिटालोलाई डिबक्स भित्र लडाएपछि पाएको पेनाल्टीमा मोराटाले गोल गर्दै खेल बराबरी गरेका थिए ।
जेरार्ड पिकेको ह्यान्ड बलमा एटलेटिकोका लागि दोस्रो पेनाल्टीको अवसर रहेपनि रेफ्रीले सो पेनाल्टी दिएनन् तर खेलको ८६औ मिनेटमा अर्जेन्टिनी स्ट्राइकर कोरेयाले निर्णायक गोल गर्दै एटलेटिकोलाई जित दिलाएका थिए ।
यसअघि रियल म्याड्रिडले पहिलो सेमिफाइनलमा भलेन्सियालाई ३-१ गोल अन्तरले पराजित गरेको थियो ।
अब सुपर कपको फाइनलमा रियल म्याड्रिड र एटलेटिकोबीच आइतबार हुने भएको छ ।