गोरखा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) का गण्डकी प्रदेश सभाका सदस्य प्रकाशचन्द्र दवाडीले दुई बर्षको अबधिमा करीब २२ लाख रुपैयाँ सामाजिक काममा खर्च गर्नुभएको छ । २०७४ साल पुषमा प्रदेश सभामा निर्वाचित भएपछि सपथ लिएलगत्तै आफनो तलब भत्ता सामाजिक काममा खर्च गर्ने प्रतिबद्धता अनुसार सामाजिक काममा खर्च गरेको उहाँले बताउनुभयो । नेपाल प्रेस युनियन गोरखाको आयोजनामा बिहीबार भएको पत्रकार सम्मेलनमा उहाँले ब्यक्तिगत रकम समेत थपेर करीब २२ लाख रुपैयाँ सामाजिक काममा खर्च गरेको बताउनुभयो ।
२०७४ पुष २२ गतेदेखि २०७५ पुषसम्म पाएको ७ लाख ३० हजार रुपैयाँ तलव भत्तामा व्यक्तीगत ४ लाख ९० हजार रुपैया थप गरि १२ लाख २० हजार रुपैयाँ खर्च गरेको उहाँको भनाई छ । यस्तै, २०७५ पुषदेखी २०७६ पुषसम्मको ६ लाख ७९ हजार रुपैयाँ तलव भत्तामा व्यक्तीगत २ लाख ६० हजार थप गरि ९ लाख ३९ हजार रुपैया सामाजिक काममा खर्च गरेको उहाँले जानकारी दिनुभयो ।
जापानमा रहेको ब्यबसायबाट कमाएको मुनाफाको निश्चित रकम तलबमा थप गरेर सामाजिक काममा खर्च गरेको उहाँको भनाई छ ।
आफनो निर्वाचन क्षेत्र सगैँ जिल्लाका अन्य ठाउँमा पनि स्वास्थ्य, शिक्षा, सडक र सामाजिक समुह तथा संघसस्थांलाई सहयोग गरेको उहाँले जानकारी दिनुभयो । विद्यार्थीलाई छात्रवृत्ति,बिरामीलाई उपचार, विद्यालयलाई सहयोग, स्थानीयस्तरमा आबश्यकता अनुसार बाटो मर्मत तथा निर्माण, क्लब तथा आमा समुहलाई पर्यटन प्रबद्र्धन लगायत निश्चित काममा खर्च गर्ने गरि सहयोग रकम उपलब्ध गराउँदै आएको उहाँको भनाई छ ।
पत्रकार सम्मेलन मार्फत नै उहाँले जनप्रतिनिधीको सेवा सुविधा गरिब र पीडित जनताको जिवनस्तर उकास्नका लगानी गर्न सरकारलाई आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन गोरखाका अध्यक्ष नरेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गोरखाका जिल्ला सभापति हरीबहादुर घलेले सामाजिक कामप्रति सांसद दवाडीको लगावको प्रशंसा गर्नुभयो ।