काठमाडौं(एजेन्सी)–खेलाडीहरुको चोटले ग्रस्त रियल म्याड्रिडले भ्यालेन्सियामाथि जित निकाल्दै स्पेनिस सुपर कपको फाइनलमा स्थान बनाएको छ । एडिन हजार्ड, गेराथ बेल, करिम बेन्जेमा, मार्को असेन्सियो, लुकास भाज्क्वेजजस्ता खेलाडीहरु बिना नै रियल मैदानमा उत्रिएको थियो । साउदी अरेबियामा भएको सेमिफाइनल खेलमा रियल ३–१ गोलअन्तरले विजयी बन्यो । खेलमा टोनी क्रुसले कर्नरबाट सिधै गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । इस्कोले उत्कृष्ट भलीमार्फत गोल गर्दै रियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफमा लुका मोड्रिचले अर्को गोल थप्दै रियलको अग्रता फराकिलो बनाए । खेलको अन्त्यतिर भ्यालेन्सियाले भिडियो एसिस्टेन्ट रेफ्रीको मद्दतले पेनाल्टी पायो । सर्जियो रामोशले डि–एरियाभित्र ह्याण्डबल गरेपछि भ्यालेन्सियालाई पेनाल्टी दिइएको थियो जसलाई ड्यानीयल परेहोले सजिलै गोलमा परिणत गरे ।अर्को सेमिफाइनल खेलमा बिहीबार बार्सिलोनाले एथ्लेटिको म्याड्रिडको सामना गर्नेछ । दुईबीचको विजेताले आइतबार रियलको सामना गर्नेछ ।
प्रतियोगिताको फर्म्याट यो सिजनदेखि परिवर्तन गरिएको हो । यसअघि कोपा डेल रे र ला लिगाको विजेताले यो उपाधिका लागि भिड्ने गरेकोमा यो सिजनदेखि दुई प्रतियोगिताको शीर्ष दुई टोलीले यो प्रतियोगिता खेल्न थालेका हुन् । गत सिजन रियल लिगमा तेस्रो स्थानमा सिमित भए पनि बार्सिलोनाले लिग जित्नुका साथै कोपा डेल रेमा उपविजेता बनेकाले रियलले प्रतियोगिता खेल्ने अवसर पाएको हो ।