काठमाडौँ(जस)–सशस्त्र प्रहरी बलको एपिएफ क्लबले होङ्गवाञ्जी न्यु डाइमण्ड कप राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा विजयी शुरुआत गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल क्लबको खेलमैदानमा बुधबारदेखि शुरु भएको सो प्रतियोगितामा साविक विजेता एपिएफले पोखरा टप्स माविलाई ३–० सेटले पराजित गरेको हो । एपिएफले सो खेल २५–११, २५–१० र २५–५ अङ्कले जित्यो । बुधबारको खेलमा निरुता ठगुन्नाले एपिएफबाट डेब्यु गरेका छन् । यही पुस २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तेस्रो संस्करणमा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’मा एपिएफ क्लबसँगै पोखरा टप्स, त्रिभुवन आर्मी क्लब र पारा माउण्ड तथा समूह ‘बी’मा आयोजक न्यु डायमण्ड स्पोर्टस् क्लब, ढोरपाटन स्पोर्टस् क्लब र नेपाल पुलिस क्लब छन् । लिग कम नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगिताका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । आयोजक क्लबका उपाध्यक्ष एवं प्रतियोगिताका संयोजक कुमार राईका अनुसार विजेता टोलीले रु चार लाख १०१, उपविजेताले रु तीन लाख १०१, तेस्रो हुनेले रु एक लाख ५१ हजार १०१ तथा चौथोले रु ५१ हजार १०१ पुरस्कार प्राप्त गर्नेछ ।
यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु २१ हजार एक सय, उत्कृष्ट स्पाइकर, ब्लकर, क्विकर, सेटर, सर्भर, डिफेण्डर र प्रशिक्षकलाई रु सात हजार १०१ प्रदान गरिनेछ । प्रतियोगिताको मुख्य प्रायोजन होङ्गवाञ्जी बौद्ध समाजले गरेको हो । प्रतियोगिताको पहिलो संस्करण न्यु डायमण्ड क्लब तथा दोस्रो संस्करण एपीएफ क्लबले जितेको थियो ।