शुक्रबार, साउन ८ २०८३

शुक्रबार, साउन ८ २०८३

इटालीमा रोनाल्डोको पहिलो ह्याट्रिक

मंगलबार, पुष २२ २०७६

काठमाडौं(एजेन्सी)– इटालियन सिरिए एमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रागनार क्लाभानको गल्तीको फाइदा उठाउँदै रोनाल्डोले साबिक विजेतालाई अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे ।
रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे । योसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ह्याट्रिक गर्ने एलेक्सिस सान्चेज पछि दोस्रो खेलाडी बनेका छन् ।
रोनाल्डोले इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा ह्याट्रिक गरेका छन् । रियल म्याड्रिडबाट सन् २०१८ मा युभेन्टस आएपछि रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा रहेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा गोल गरेका छन् । जीतपछि केही समयका लागि युभन्टेस लिगको शीर्ष स्थानमा उक्लिए पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो । १८ खेलपछि इन्टर र युभे दुवैको समान ४५ अङ्क रहेको छ । इन्टरको जीतमा रोमेलु लुकाकुले दुई गोल गरे भने लाउटारो मार्टिनेजले एक गोल गरे । नापोलीका लागि आर्का्डिउस मिलिकले एक गोल फर्काए ।
म्यान्चेस्टर युनाइटेडबाट इन्टर आएपछि लुकाकुले लिगमा १४ गोल गरिसकेका छन् । उनीभन्दा अघि १९ गोलसहित लाजियोका सिरो इमोबाइल मात्र रहेका छन् । १३ गोलसहित रोनाल्डो तेस्रो स्थानमा रहेका छन् । उता, ज्लाटान इब्राहिमोविचको पहिलो खेलमा एसी मिलान साम्पडोरियासँग गोलरहित बराबरीमा रोकियो । सोमबार भएका अन्य खेलमा फ्लोरेन्टिना र बालोग्नाले १–१ को बराबरी खेल्यो, एटलान्टाले पार्मालाई ५–० ले हरायो भने उडिनेजेले लिसलाई १–० ले पराजित गर्यो ।
नापोलीमाथि इन्टरमिलानको जितमा लुकाकुको दुई गोल
इटालियन सिरी ए मा इन्टरमिलानले नापोलीमाथि जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले नापोलीमाथि ३–१ गोल अन्तरले जित हासिल गरेको छ । इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गरेका थिए भने लाउटारो मार्टीनेजले एक गोल गरेका थिए । त्यस्तै नापोलीका लागि एक गोल अर्काडिउस्ज मिलिकले गरेका थिए । यो जितसँगै इन्टरको १८ खेलमा ४५ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ । युभेन्टस ४५ अंकसहितनै गोल अन्तरको आधारमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै नापोली १८ खेलमा २४ अंकसहित लिगको आठौ स्थानमा रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार