आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

‘जामुनको रुख’ कीर्तिपुर थिएटर मलमा मञ्चन शुरु

सोमबार, पुष २१ २०७६

काठमाडौं(जस)–कीर्तिपुर राराहिलस्थित थिएटर मल–कीर्तिपुर रंगमञ्चमा नाटक ‘जामुनको रुखः सेमलेस भल्गारिटी’को मञ्चन सुरु भएको छ । कृष्ण चन्दको कथामा आधारित नाटकलाई रंगकर्मी केदार श्रेष्ठले नाट्य लेखन, परिकल्पना तथा निर्देशन गरेका छन् । शुक्रबारबाट नियमित मञ्चन सुरु भएको नाटक हाँस्यव्यंग्य शैलीमा प्रस्तुत गरिएको छ । ७० मिनेट लामो नाटक सरकारी सचिवालय अगाडि बूढो जामुनको रुख ढलेर एक आम मान्छेलाई थिचेपछि सुरु हुन्छ । थिचिएको मान्छे निकाल्न कसैले जिम्मेवारी लिनुको सट्टा कर्तव्य र मानवियतालाई पाखा लगाएर एकपछि अरुलाई जिम्मेवारी पन्छाउँदै नाटकको कथा अघि बढ्छ । अझै थिचिएको मान्छेप्रति भन्दा ठिक उल्टो ढलेको बूढो जामुनको रुखप्रति सहानुभूति प्रकट गर्दै अमानवियताको हदसम्म पुग्छ ।
समग्रमा ‘जामुनको रुख’ वर्तमान जटिल र विसंगत सामाजिक–राजनीतिक अवस्थाको सपाट कथा हो । पद र पावरमा रहेकाको अनिर्णय, अनियमितता, अकर्मण्यता, अव्यवस्था, असंवेदना, अमानवियता लगायतको कथा हो । वर्तमान समयमा खोक्रिदैं गएको सरकारी प्रणाली, राजनीतिक व्यवहार र कर्मचारी संयन्त्रमाथिको सिधा व्यङ्ग्य नाटकले गर्छ । यसर्थ, यो नाटकलाई निर्देशकले दिएको अंग्रेजी सबटाइटल ‘सेमलेस भल्गारिटी’ अर्थात् लाजविहिन अश्लिलता सार्थक लाग्छ । उर्दू र हिन्दी भाषी साहित्यकार कृष्ण चन्दरको लोकप्रिय कथामध्ये एक ‘जामुनको रुख’ जस्तै नाटकलाई पनि सरल र सरस रुपमा प्रस्तुत गर्ने प्रयास मञ्चमा देखिन्छ । त्यति हुँदाहँुदै नाटक सकिदासम्म दर्शकलाई गम्भीर बनाएर मञ्चमा नाटकको अन्तिम प्रकाश निभ्छ ।
एकदमै सामान्य कथालाई रमाइलो, सुन्दर र अर्थपूर्ण दृश्यहरुमा नाटकमा सटिक रुपमा उतारिएको छ । नाटकले प्रष्टै रुपमा नेपाली सरकारी कार्यालय, त्यहहँका कर्मचारी र काम गर्ने तौरतरिकालाई दृश्यात्मक कथा भन्दै यस परिपाटी भोग्न बाध्य आम मान्छेको निरिह अवस्थालाई चित्रण गरेको छ । हरेक दिन बेलुकी ४ः३० बजे र शनिबार दिउँसो २ बजे पनि कीर्तिपुर रंगमञ्चमा मञ्चन हुनेछ । शंकर भण्डारी, कञ्चन संग्रौला, मनिष ब्यञ्जु, शक्ति पाख्रिन, हिरा महर्जन, स्नेहा रसाइली, रोसन केसी, सरोज राईले नाटक ‘जामुनको रुख’मा अभिनय गरेका छन् । यही नाटकसँगै थिएटर मलमा मंगलबारदेखि ‘क्यानभास एट थिएटर’ नामक कला प्रदर्शनी पनि सुरु हँुदैछ । सो प्रदर्शनीमा विभिन्न विधाका १३ युवा कलाकारका कलाहको प्रदर्शनी हुने थिएटर मलका कला संयोजक सुजिता महर्जनले जनाएकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार