काठमाडौं(जस)–पाँचौ आरबीबी एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल क्लब च्याम्पियनसिप माघ ३ देखि १० गतसम्म हुने भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्ड हलमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलामा ८ टोलीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा नेपाल भलिबल संघले जानकारी दिएको छ ।
पुरुषतर्फ साविक विजेता आर्मी, एपीएफ, नेपाल पुलिस क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, मणिमुकुन्द भलिबल क्लब, नयाँ बजार भलिबल क्लब, जावलाखेल भलिबल क्लब, ढोरपाटन स्पोर्ट्स क्लब, काभ्रे जिल्ला भलिबल संघ, गण्डकी प्रदेश, आरजी भलिबल ग्रुप र पार्वती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । महिलामा साविक विजेता एपीएफ, नेपाल पुलिस, न्यु डाइमन्ड, त्रिभुवन आर्मी, जावलाखेल ट्रेनिङ सेन्टर, ढोरपाटन भलिबल क्लब, चितवन टाइग्रेस र गण्डकी प्रदेशको सहभागिता रहने छ ।
महिला–पुरुष दुवैतर्फका विजेताले २ लाख, उपविजेताले एक लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार पाउँनेछन् । सर्वोकृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने संघले जनाएको छ । विधागततर्फ उत्कृष्ट स्पाइकर, लिब्रो, सर्भर, बल्कर, लिफ्टर र प्रशिक्षकले जनही १० हजार रुपैयाँ हात पार्नेछन् । सहभागी प्रत्येक टोलीले तीनजना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ । यस प्रतियोगिताबाट पुरुषतर्फ ८ र महिलातर्फ ६ टोली राष्ट्रिय भलिबल लिगका लागि छनोट हुनेछन् । प्रतियोगितालाई राष्ट्रिय बाणिज्य बैंक (आरबीबी) ले मुख्य प्रायोजन गरेको छ ।