काठमाडौं(जस)–एमएम कप अन्तर्गत नेपाल आर्मी क्लबले विजयी शुरुवात गरेको छ । आइतबार सम्पन्न खेलमा आर्मीले अर्को विभागीय टिम एपिएफलाई १०८ रनले पराजित गरेको छ । आर्मीले दिएको २८२ रनको लक्ष्य पछाएको एपिएफ ३९.३ ओभरमा १७३ रनमा अल आउट भएको थियो । एपीएफका लागि पृथु बास्कोटाले सर्वाधिक ३६ रन बनाएका थिए भने शंकर रानाले ३२ रन बनाएका थिए । त्यस्तै समित महर्जन र सन्दीप जोराले २३(२३ रन बनाएका थिए ।
त्यस्तै प्रदीप सिंह ऐरीले २१ र कप्तान बसन्त रेग्मीले १७ रन बनाएका थिए । आर्मीका बलर शाहाब आलमले ४ विकेट लिएका थिए भने कुशल मल्लले २ विकेट लिएका थिए । त्यस्तै बिक्रम सोब, सुशान भारी र भीम सार्कीले एक एक विकेट लिएका थिए । यस अघि आर्मीले टस जितेर पहिला ब्याटिंग गर्दै ४६ ओभरमा २८१ रन बनाएर अल आउट भएको थियो । आर्मीका लागि कुशल मल्लले सर्वाधिक १११ रन बनाएका थिए । कुशलले ६३ बल खेल्दै १३ छक्का र ५ चौका प्रहार गर्दै १११ रन्को शतकीय पारी खेलेका थिए ।
आर्मीका लागि अनिल मण्डलले ४१ र रोहित पौडेलले २६ रन बनाएका थिए । त्यस्तै राजेश पुलामी मगरले ३८ रन बनाए भने बिक्रम सोबले १४ रन बनाएका थिए । एपिएफका बलर बसन्त रेग्मीले ४ विकेट लिएका थिए भने अमर सिंह राउटेलाले २ विकेट लिएका थिए । त्यस्तै अविनाश बोहोरा, सुर्य तामाङले एक एक विकेट लिएका थिए ।