काठमाडौं(एजेन्सी)–स्पेनिस ला लिगामा रियल म्याड्रिडले महत्वपूर्ण जिर हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले गेटाफेमाथि ३–० गोल अन्तरको जित हासिल गरेको हो । रियलको जितमा राफेल भरानले दुई गोल गरेका थिए भने एक गोल लुका मोड्रीचले गरेका थिए । यो जितपछि रियल म्याड्रिडले बार्सिलोनासँग अंक तालिकामा फेरी बराबरी गरेको छ । गएराती नै भएको खेलमा बार्सिलोना बराबरीमा रोकिएपछि फेरी दुवैको बराबर ४० अंक भएको छ । गोल अन्तरको आधारमा बार्सिलोना शिर्ष स्थानमा छ भने रियल दोस्रो स्थानमा रहेको छ । त्यस्तै गेटाफेको भने १९ खेलमा ३० अंक रहेको छ र लिगको सातौ स्थानमा रहेको छ ।
बार्सिलोना बराबरीमा रोकियो
स्पेनिस ला लिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना इस्पनियोलसँग २(२ गोलको बराबरीमा रोकिएको हो । बार्सिलोनाका लागि लुइस स्वरेज र अर्टूरो भिडालले एक एक गोल गरेका थिए भने इस्पानियोलका लागि डेविड लोपेज र उ लीले एक एक गोल गरेका थिए । इस्पानियोलका लागि लीले खेलको ८८औ मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । ली बार्सिलोनाविरुद्ध गोल गर्ने पहिलो चिनियाँ खेलाडी समेत बनेका छन् ।
यता बार्सिलोना भने खेलको ७५औ मिनेटमा फ्रेन्की डि जोंगले दोहोरो पहेलो कार्ड पछि रातो कार्ड खाएर मैदान छोड्दा १० खेलाडीमा सिमित भएको थियो । यो बराबरीपछि बार्सिलोना १९ खेलमा ४० अंकसहित शिर्ष स्थानमा रहेको छ भने रियल म्याड्रिडको समेत १९ खेलमा ४० अंक रहेको छ । गोल अन्तरको आधारमा रियल दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोनालाई बराबरीमा रोकेको इस्पानियोलको भने १९ खेलमा ११ अंक रहेको छ भने लिगमा पुछारमा रहेको छ ।