काठमाडौं(जस)–नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमले आगामी दुइ वर्षका लागि नयाँ कार्यसमितिको चयन प्रक्रिया थालेको छ । फोरमको विस २०७७ भाद्रसम्म वर्तमान कार्यसमितिको म्याद बाँकी रहेपनि अध्यक्ष र सचिवको पद रिक्त भैसकेको तथा कार्यवाहक अध्यक्ष र उपाध्यक्षलगायत ५ जना गत वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा निर्वाचित भएकोले फोरममा नयाँ कार्यसमिति चयनको कार्य शुरु भएको हो ।
‘एउटै व्यक्तिको दुइवटा कार्यभार निष्प्रभावी हुँदा संस्थागत कार्यसम्पादन प्रभावकारी हुन नसकेको निष्कर्षमा कार्यसमिति पुगेको छ’ महासचिव तारानाथ अर्यालले जनसवालसँगको कुराकानीमा बताए । यसै सन्दर्भमा लोकतान्त्रीक फोरमको कार्य समिति, पूर्व अध्यक्ष एवं सल्लाहकार सहितको संयुक्त वैठकले मिति २०७६ माघ २४ गते शुक्रवारका दिन साधारणसभा सहितको निर्वाचनमा जाने निर्णयसमेत गरेको छ ।
सो निर्वाचन प्रयोजनका लागि पुराना सदस्य संस्थाहरुलाई आ–आफ्नो सदस्यता नविकरण गर्न र नयाँ व्यवसायिक संस्थाहरुलाई नयाँ सदस्यता लिनका लागि समय सीमा राखि सूचना मार्फत जानकारी गराइने फोरमले जानकारी दिएको छ । ‘यस कार्यका लागि सम्पूर्ण लोकतान्त्रिक पक्षधर व्यवसायीहरुलाई क्रियासिल बनाउने कार्य शुरु भइसकेको छ’, महासचिव अर्यालले बताए ।
फोरम नेपाली कांग्रेसको शुभेच्छुक संस्थाका रुपमा रहेको छ ।
